प्रदेशको विशेष अनुदान बाडफाँड, सम्पूरकको म्याद थपिदै

0
2007

दार्चुला, माघ ९ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षका स्थानीय तहहरुलाई वितरण गर्ने विशेष अनुदानको टुंगो लगाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले विशेष अनुदानबाट सञ्चालन गरिने योजना र बजेटको टुंगो लगाएको हो ।
विशेष अनुदान सम्बन्धि कार्यविधिको व्यवस्थाअनुसार विशेष अनुदानको बाडफाँड गरिएको मन्त्रालयका प्रवक्ता नवराज अर्यालले बताउनुभयो । पुष मसान्तभित्र योजना र कार्यक्रम छनोट गरी बजेट बाडफाँड गरिसक्नुपर्ने समयसिमा रहेको थियो । पुष मसान्तमै विशेष अनुदानको बाडफाँड भइसकेको प्रवक्ता अर्यालले बताउनुभयो ।
प्रदेशभरीका सबै स्थानीय तहहरुबाट गत मंसिर महिनामा अनुदानका लागि प्रस्ताव आव्हान गरिएको थियो । स्थानीय तहहरुबाट पेश गरिएका प्रस्तावहरुलाई छनौट गर्न मन्त्रालयका सचिवको अध्यक्षतामा कार्यक्रम छनौट समिति रहने कार्यविधिको व्यवस्था छ ।
मन्त्रालयले विशेष अनुदान वितरणको विवरण भने सार्वजनिक गरेको छैन । ‘विशेष अनुदानका लागि छनौट भएका स्थानीय तहहरुलाई पत्राचारको तयारी भइरहेको छ, आइतवारसम्म बाडफाँडको विवरण सार्वजनिक हुन्छ’ प्रवक्ता नवराज अर्यालले भन्नुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले विशेष अनुदानका लागि ५० करोड रुपैयाँ छुट्याएको छ ।
विशेष अनुदानसंगै आव्हान गरिएको सम्पूरक अनुदानको भने टुंगो लागेको छ । ‘स्थानीय तहहरुबाट सम्पूरक अनुदानका लागि न्युन प्रस्ताव पेश भएका छन्, दोस्रो पटक सुचना प्रकासित गरी सम्पूरक अनुदानका लागि थप प्रस्ताव माग्ने तयारी छ’ आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता अर्यालले भन्नुभयो ।
केही दिनमै यसबारे मन्त्रालयले सुचना निकाल्ने तयारी गरेको उहाँले बताउनुभयो । चालु वर्षमा सम्पूरक अनुदानका लागि प्रदेश सरकारले १ अर्ब बजेट छुट्याएको छ ।