प्रदेशको बजेट स्थानिय तहरुलाई सन्तुलित रुपमा विनियोजन भएनः अध्यक्ष कार्की

777

दार्चुला, मंसिर ६ गते ।

दार्चुलाको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले सुदुरपश्चिम प्रदेश सरकारले सन्तुलित रुपमा नभई राजनीतिक प्रतिनिधित्वको आधारमा स्थानिय तहहरुमा बजेट विनियोजन गरेको आरोप लगाउनुभयो ।
जिल्ला समन्वय समिति दार्चुलाले शनिबार आयोजना गरेको चालु आर्थिक बर्षको जिल्ला स्तरीय प्रथम समिक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
“प्रदेशबाट विषयगत रुपमा हुने बाडफाड सन्तुलन रुपमा हुने गरेको छैन , दार्चुला जिल्लाका ९ वटै स्थानियतहहरुको बजेट असन्तुलीत रुपमा निनियोजन भएको छ” अध्यक्ष कार्कीले भन्नुभयो । बजेट सन्तुलन रुपमा नभएर राजनीतिक प्रतिनिधित्वका आधारमा बजेट विनियोजन भएको अनुभूती भएको उहाँको भनाई छ । संघीयताको मर्म विकासमा सन्तुलन ल्याउनु भएपनि राजनीतिक प्रतिनिधीत्वका आधारमा असन्तुलित रुपमा बजेट विनियोजन गरिए त्यसले संघीयतामा असर पुर्याउने अध्यक्ष कार्कीले बताउनुभयो ।
अर्को प्रसंगमा बोल्दै अध्यक्ष कार्कीले समिक्षा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गनुभएको छ । स्थानिय तहहरुका साथै जिल्लामा स्थित कार्यालयहरुको समग्र पक्षको समिक्षा गर्ने तथा समिक्षा बाट कार्यसम्पादन प्रभावकारी बनाउने उद्धेश्य कार्यक्रमको रहेपनि जिल्ला स्थित कार्यालयका पदाधिकारीहरु सहभागि नहुनुले कार्यक्रम कर्मकाण्डी भएको अध्यक्ष कार्कीको भनाई छ ।
‘जिल्ला समन्वय समितिले औपचारीक जानकारी गराउँदा पनि समिक्षा कार्यक्रममा जिल्ला स्थित सेवा प्रदायक सरकारी कार्यालयका उपस्थिति नहुनुले गम्भी प्रश्न खडा गराएको छ’ अध्यक्ष कार्कीले भन्नु भयो ।
समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीले पनि समिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको धारणा राखेका छन् । जिल्लाका सबै स्थानीय तहको सहभागिता भई आ–आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत हुने अपेक्षा गरेको र जिल्ला स्थित सरकारी कार्यालयको पनि सहभागिता हुने अपेक्षा गरिए पनि सहभागिता हुन नसकेको उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति प्रमुख कार्कीले मुख्यगरी प्रदेशबाट सञ्चालित विकास निर्माणका योजनाहरुका बारेमा जिल्ला समन्वय समितिलाई जानकारी नै नहुने गरेको गुनासो गरेका छन् ।

बार्षिक तथा प्रथम चौमासीकको समिक्षा

जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा शुक्रबार गत आर्थिक वर्ष २०७६÷०७७ को जिल्ला स्तरीय वार्षिक समिक्षा गरिएको थियो भने शनिबार चालु आर्थिक बर्षको प्रथम चौमासीकको समिक्षा कार्यक्रमको आयोजना गरिएको छ ।
चालु आर्थिक वर्षको समिक्षा कार्यक्रममा जिल्लाका नौ ओटा स्थानीय तहमध्ये चार स्थानीय तहले मात्रै प्रस्तुती राखेका छन् ।
महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहूँ गाउँपालिका र ब्याँस गाउँपालिकाका सहभागिहरुले मात्रै प्रथम चौमासिकमा भएको प्रगतिका बारेमा प्रस्तुती राखेका थिए । जिल्ला समन्वय समिति कार्यालय दार्चुलाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा जिल्ला अधिकांश स्थानीय तहको सहभागिता समेत हुन सकेको थिएन ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस् !