प्रदेशको बजेट खर्च सुस्त

0
2050

दार्चुला, माघ १३ गते ।
दार्चुलामा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च सुस्त रहेको छ । आर्थिक वर्षको आधा समय वितिसक्दा पूजीगत बजेट २ दशमलव १९ प्रतिशत मात्रै खर्च भएको छ ।
जिल्लास्थित आधा दर्जन सरकारी निकायहरुमार्फत खर्च गर्न प्रदेश सरकारले पूजीगत बजेट उपलब्ध गराएको छ । चालु वर्षमा २५ करोड ६ लाख ७२ हजार पूजीगत बजेट विनियोजन गरिएकोमा पुससम्म ५४ लाख ९८ हजार ६ सय ३६ रुपैयाँ मात्रै खर्च भएको कोलेनिका दार्चुलाले जनाएको छ ।
सर्वाधिक पूँजीगत बजेट रहेको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले १८ लाख ५९ हजार २ सय ६६ रुपैयाँ खर्च गरेको छ । सिँचाई विकास डिभिजनमा यो वर्ष २२ करोड ३४ लाख ६७ हजार पूजीगत बजेट छ ।
डिभिजन वन कार्यालयमा १ करोड १८ लाख ६५ हजार बजेट रहेकोमा पुससम्म १८ लाख ७६ हजार ३ सय ७१ रुपैयाँ खर्च भएको छ । स्वास्थ्य कार्यालय दार्चुलामा १ करोड ४३ हजार बजेटमध्ये २ लाख १९ हजार ९ सय ९९ रुपैयाँ मात्रै पूजीगत बजेट खर्च भएको तथ्यांक छ ।
पुष महिनामा मात्रै प्रदेश सरकारको दार्चुला जिल्लाभरी १७ लाख ७ हजार ६ सय ७६ रुपैयाँ पूजीगत बजेट खर्च भएको कोलेनिका दार्चुलाका सुचना अधिकारी इन्द्र सिंह धामीले बताउनुभयो । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा १ दशमलव ०८ प्रतिशत पूजीगत बजेट खर्च भएको थियो ।
चालु खर्च २८ प्रतिशत
दार्चुलामा प्रदेश सरकारको चालु बजेट खर्च करिब २८ प्रतिशत रहेको छ । जिल्लास्थित सातवटा सरकारी निकायहरुमा २४ करोड १६ लाख ६ हजार चालु बजेट विनियोजन गरिएकोमा पुससम्म २७ दशमलव ८८ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
पुष महिनामा मात्रै १ करोड ११ लाख २८ हजार २१ रुपैयाँ प्रदेश सरकारको चालु बजेट खर्च गरिएको छ ।