प्रदेशको उद्योग मन्त्रालयअन्तर्गत १६ निकाय रहने

2727

दार्चुला, भदौ १२ गते ।
सात नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत १६ वटा निकाय सञ्चालन हुने भएका छन् । नेपाल सरकारको असार ३२ गतेको निर्णयले साविकमा रहेका जिल्ला र क्षेत्रियस्तरका संरचनाहरु खारेज गरिएपछि प्रदेश सरकारअन्तर्गत नयाँ संचरना स्थापना गरिने भएका हुन् ।
प्रदेश सरकारको नयाँ स्वीकृत संरचनाअनुसार मन्त्रालयअन्तर्गतका कार्यालयहरु स्थापना, रुपान्तरण, सञ्चालन र व्यवस्थापनको कार्य सुरु भएको छ । भदौ ५ गते प्रदेश सरकारको मन्त्रालयले पत्राचार गरी जिल्लास्तरसम्मका कार्यालयहरुको साइनबोर्ड, छाप र लेटरप्याड प्रदेश सरकारको संरचनाअनुसार बनाउन भनेको छ ।
मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मन्त्रालयअन्तर्गत रहने १६ वटा निकाय तथा कार्यालयहरु सञ्चालन गरिने स्थानको समेत निर्धारण गरेको छ । भदौ ५ गतेको विभागिय मन्त्रीको निर्णयअनुसार कार्यालय सञ्चालनको स्थान निर्धारण गरिएको मन्त्रालयको पत्रमा उल्लेख छ ।
मन्त्रालयअन्तर्गत वन र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रहनेछन् । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र साविकको क्षेत्रिय वन तालिम केन्द्रमा रहनेछ । घरेलु तथा साना उद्योग कार्यालय धनगढी र महेन्द्रनगरमा रहनेछन् । डोटी र डडेल्धुरामा भू तथा जलाधार व्यवस्थापन कार्यालय राखिने भएका छन् ।
नौवटै जिल्ला वन कार्यालयलाई डिभिजन वन कार्यालयमा रुपान्तरण गरिएको छ । साविकको वन कार्यालयमै डिभिजन कार्यालय सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ । प्रदेश सरकारअन्तर्गतका निकायहरुको साइनबोर्ड, छाप र लेटरप्याड नयाँ बनाइए पनि साविकमा कार्यालयहरुले प्रयोग गर्दैआएको लोगो पनि पुरानै कायम गरिएको छ । वन कार्यालयहरुले रुखको लोगो प्रयोग गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !