प्रचण्डको योजना सफल होला ?

0
742

सम्पादकीय
केही दिन पहिले ओलीका बिरुद्धमा बृहत् गठबन्धन बनाएर जाने प्रचण्डले घोषणा गरे र सोही अनुसार आफ्नो दलको बैठकमा आफ्नो योजना पनि सुनाए ।

उनको यो घोषणाभित्र ओलीको दलसँग एक्लै भिड्न सकिदैन भन्ने प्रस्ट सन्देश दिएको एमाले नेताहरुले बताउन थालेका छन् तर प्रचण्डको यो घोषणाका पछाडि आफ्नो दललाई निर्वाचनमा सबैभन्दा ठूलो दल बनाउने र आफू शक्तिसम्पन्न (ओलीभन्दा पनि बढी शक्ति केन्द्रित गर्ने) प्रधानमन्त्री बन्ने योजना रहेको विश्लेषकहरु बताउँछन् । साख गुमाउन लागेको माओवादीलाई प्रचण्डले एमालेसँग एकता प्रस्ताव गराएर संसदमा दोस्रो ठूलो दल बनाएको बिगत छ । अहिले काँग्रेसको अन्तरकलह र एमालको फुटबाट आफ्नो पार्टी सहजै सबैभन्दा ठूलो दल बन्ने प्रचण्डको आँकलन छ । उनले गठबन्धनलाई निर्वाचनसम्मै लैजाने र आफ्ना उम्मेदवारहरुलाई जसरी पनि तिजाउने रणनीति तय गरिने योजनासमेत सार्वजनिक गरेबाट प्रचण्ड माओवादी केन्द्रलाई आउँदो निर्वाचनबाट सबैभन्दा ठूलो दल बनाउने र आफू शक्तिशाली प्रधानमन्त्री बन्ने तयारीमा रहेको बुझ्न गाह्रो छैन तर प्रचण्डले भनेझैं माओवादीलाई संसदमा सबैभन्दा ठूलो दल बन्न सम्भव भने छैन । प्रचण्डको यो योजना पूरा हुन नदिने तिन कारणहरु प्रस्ट छन् । पहिलो कारण नेपाली काँग्रेस हो । जुन पार्टीको सभापतिलाई प्रचण्डले चुनावी प्रधानमन्त्री बनाएका छन् उनै प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो दलका आफ्नो नेतृत्व स्थापित गर्ने यो सुनौलो र सम्भवतः अन्तिम मौका हो । यो मौका प्रचण्डको दललाई ठूलो दल बनाउन प्रयोग गर्न स्वयम् देउवाले दिने छैनन् र नेपाली काँग्रेका अन्य नेताहरुले त झनै दिनेछैनन् । नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन यो अवसरको प्रयोग गर्न देउवा सक्दैनन् भने यो उनको पार्टी र सरकारमा अन्तिमक कार्यकाल हुनेछ, जो देउवा स्वयम् चाहँदैनन् । दोस्रो कारण प्रचण्ड र उनका नेताहरु स्वयम् नै हुन् । माओवादीको जनाधारमा चरम निरासा छ, निम्नवर्गीय जनताका सबालहरुमा मोआवादी नेताहरु केन्द्रित छैनन् । अस्पताल, उद्योग, खानी, जलविद्युतका मालिक र शेयरधनि भएका माओवादी नेताहरुले मजदुरवर्गको नेतृत्व गर्न सक्दैनन् । नेताहरु महलमा बस्न थालेको, उनीको जीवनशैली नवसम्भ्रान्तझैं भडकिलो भएको वैचारिकतालाई प्रचण्ड र उनका नेताहरुले चिर्न सक्ने सामथ्र्य राख्दैनन् । माओवादीलाई संसदमा सबैभन्दा ठूलो दल हुन नदिने तेस्रो कारण मधेसमा माओवादीको खस्किएको अवस्था हो । सबैभन्दा बढी सांसद निर्वाचन हुने मधेशको महत्त्वपूर्ण शक्तिलाई वर्तमानमा जसरी पाखा लगाइएको छ, त्यसको हिसाब मधेसवादी दलहरुले लिने नै छन् । त्यसमाथि ओलीले मधेस शक्तिसँग गर्न सक्ने गठबन्धनले मधेसमा बलियो मानिएको नेपाली काँग्रेसलाई नै जटिल चुनौति दिने छ भने माओवादीले मधेसबाट अत्यधिक मतको आशा नगरे हुन्छ ।