पैसाका लागि हत्या गरिएको आशंका

0
2529


दार्चुला, भदौ ६ गते ।
मार्मा गाँउपालिकाको वडा नम्बर १ गुल्जरको घोल्जरमा मंगलवार विहान आफ्नै घरमा मृत फेला परेका अंगिरसिह ठगुन्नाको हत्या भएको आशंका गरिएको छ । अंगिरसंग पैसा रहेको र पैसा लुट्नका लागि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ ।
मंगलवार विहान घोल्जरस्थित आफ्नै घरमा ठगुन्ना मृत भेटिएका थिए । घरमा ७८ वर्षिय वुवा र अंगिर मात्रै थिए । कान नसुन्ने अवस्थामा रहेका अंगिरका वुवाले सोमबार राती छोरो कसरी मरेको भन्ने थाहा पाउन सकेनन् ।
मंगलवार विहान छिमेकी हरसिह धामीले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे खबर गएको दार्चुला प्रहरी प्रवक्ता हिक्मतवहादुर बोहराले बताउनुभयो । इप्रका लटिनाथ र गोकुलेश्वरका साथै जिल्ला प्रहरीबाट समेत अनुसन्धान टोली परिचालन गरेर घटनाको अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घरभित्रै मृत अवस्था भेटिएका ठगुन्नाको टाउकोमा चारवटा घाउ छन् । खुकुरीले प्रहार गरी हत्या गरिएको प्रारम्भिक बुझाइ छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर मृतकको लास पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाएको छ । बुधवार विहान गोकुलेश्वर अस्पतालमा लास पठाइएको प्रहरीले बताएको छ ।
धनगढीमा जग्गा किन्ने तयारीमा रहेका अंगिरले केही रकम जम्मा गरी घरमा राखेको खुलेको छ । घरभित्रको दराजमा साढे नौ लाख रुपैयाँ भेटिएको प्रहरी प्रवक्ता बोहराले बताउनुभयो । घरमा रहेको उक्त पैसा लुट्नका लागि अंगिरको हत्या भएको आशंका गरिएको छ । तर प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ ।
मृतक ठगुन्ना स्वास्थ्य चौकी गुल्जरमा कार्यालय सहयोगी थिए । ठगुन्नाका श्रीमती र छोरी खर्क गएको बेला सोमबार राती आफ्नै घरभित्र ठगुन्ना मृत भेटिएका हुन् । ठगुन्नाका दुई छोरा भए पनि घरबाहिर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here