पैदलमार्गको व्यवस्था नहुँदा भारत र चीनको व्यापार प्रभावित ।

0
2439

महाकाली नदी किनारमा पैदलमार्गको व्यवस्था हुन नसक्दा हरेक वर्ष भारत र चीनबीच हँुदैआएको स्थलगत व्यापार यो वर्ष प्रभावित हुने देखिएको छ । जुन महिनादेखि सुरु हुने व्यापारका लागि भारतीय व्यापारीले महाकाली नदी किनारको मार्ग भएर सामान ढुवानी गर्दछन् ।
महाकाली नदीले भारतीय क्षेत्रमा रहेको पैदलमार्ग बगाएको र भारतीय क्षेत्रमा सडक निर्माण भइहेका कारण अहिले पैदल यात्रा जोखिमपूर्ण बनेको छ । धारचुला तहसिलअन्तर्गत लखनपुरदेखि नंजङ र मालपा हुँदै बुँदीसम्मको पैदल मार्ग क्षतिग्रस्त बनेको छ । नदी किनार छेउको बाटो अधिकांश ठाँउमा भत्किएको छ । भारतको लोक निर्माण विभागले नजंङ खोलादेखि करिब एक किलोमिटरको उचाईको पहाड भएर नयाँ गोरेटो बाटो बनाएको छ । उक्त बाटो मालपामा फेरि महाकाली नदी किनारमा झर्दछ ।
मालपादेखि बुँदीसम्मको बाटो पनि जोखिमपूर्ण भएको बझाङ घर भएका स्थानीय भरिया हरि खत्रीले बताउनुभयो । लोक निर्माण विभागले बनाएको गोरेटो बाटो पनि जोखिमपूर्ण रहेको छ । धेरै ठाँउमा भिरालो र चट्टानी भूभाग भएकाले पैदल यात्रा जोखिमपूर्ण भएको घाटिबगडका होटल व्यवसायी जहेन्द्रसिह भण्डारी बताउनुहुन्छ ।
भारतको लखनपुरदेखि नजंङसम्मको करिब २ किलोमिटर बाटो सडक निर्माणका कारण क्षतविक्षत बनेको छ । लखनपुर र नेपालको तम्बाकु क्षेत्र जोड्ने काठेपुल जेठ ९ गते बगाएपछि अहिले यसक्षेत्रको आवतजावत कठिन बनेको छ ।
भारतीय व्यापारी र उत्तरीक्षेत्रका वासिन्दाले भारतकै भूमि गएर तत्काल पैदल मार्ग निर्माण गर्न माग गरेका छन् । धारचुलास्थित एसडिएम कार्यालयमा भारत चीन व्यापार समितिका अध्यक्ष जीवनसिंह रौंकाली नेतृत्वको टोलीले तत्काल बाटो निर्माण गर्न माग गरेको हो ।
लखनपुरदेखि नजंङखोला सम्मको पैदल बाटो तत्काल बनाउनुपर्ने भारतीय व्यापारीको माग छ । अहिले यस क्षेत्रमा भारतको सीमा सडक संगठन, ग्रिफ र नीजि कम्पनी गर्ग एवं गर्गले सडक निर्माण गरिरहेको छ ।
धारचुलाका प्रभारी एसडिएम डा. ललितमोहन तिवारीले तत्काल पैदल बाटो निर्माणको तयारी भइरहेको बताएका छन् । पछिल्लो समय लखनपुर र छंकङमा राखिएका दुइटा काठेपुल महाकालीले बगाएको छ । पुल बनाउनुअघि व्यापारीहरुका अधिकांश सामान ढुवानी भइसकेको दुम्लिङ कल्जु क्षेत्रका होटल व्यवसायी खडकसिह धामीले बताउनुभयो ।
सयौं घोडाखच्चड र भरियामार्फत व्यापारिक सामान ढुवानी हुने गर्दछ । पुल बग्नुअघि घोडाखच्चड र भरियामार्फत काठेपुल भएर सामान ढुवानी गरिएको छ । अझै पनि केही सामान ढुवानी हुन बाँकी रहेको भारतीय व्यापारीले बताएका छन् ।
धारचुलाबाट घोडाखच्चड र भरियामा जुन महिनाभन्दा अगाडि नै सामान ढुवानी गरी गुञ्जीमा भण्डारण गरिन्छ । जुन महिनादेखि चीनको ताक्लाकोटमा व्यापार सुरु हुने गर्दछ । पैदल मार्ग ठिक नहुदा व्यापार व्यवसाय प्रभावित बनेको भारत चीन व्यापार समितिका अध्यक्ष जीवन सिंह रौंकलीलाई उद्दृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान दैनिकले खबर लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here