पूर्ण खोपः देश निर्माणको आधार

0
719

सम्पादकीय

दार्चुलाका दुई हजार नौं सयभन्दा बढी बालबालिकाहरु अब एक जर्दन रोगहरुबाट मुक्त हुनेभएका छन् ।बालबालिकाहरुले स्वस्थ्य भएर बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि दार्चुलाका स्वास्थ्य क्षेत्रमा क्रियाशील सबै स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र भएका छन् ।

कोभिडको जोखिमका बेलासमेत बस्तिबस्तिमा गएर बालबालिकाले पाउनु पर्ने खोप दिएर, दिन लगाएर बालबालिकाहरुलाई स्वस्थ्य जीवन प्रदान गर्ने पवित्र कार्यमा आफूलाई होमेका सबै स्वास्थ्यकर्मीहरुलाई विशेष बधाई दिनै पर्ने हुन्छ । जिल्लाको स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिले बिगत लामो समयदेखि बालबालिकाको स्वास्थ्य संवेदनशीलताका क्षेत्रमा विशिष्ठ काम गर्दै आएको छ । झण्डै चार वर्ष अगाडि नै जिल्लालाई पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गर्ने परिस्थितिको सिर्जना गर्न जिल्ला तहको स्वास्थ्यकर्मी मात्रै नभएर ग्रामीण क्षेत्रमा काम गर्ने, बस्तिबस्तिमा घरघर गएर खोपको सूचना दिने र खोप लगाउन प्रतिबद्ध बनाउने महिला स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयम् सेविकाहरुको विशिष्ठ भूमिका रहेको कुरालाई बिर्सिन हुँदैन । स्वास्थ्य संस्थामा सुत्केरी गराउनेदेखि जन्मिएका बालबालिकालाई तोकिएको समयमा खोप लगाउन प्रेरित गर्ने कार्यमा खिटने स्वास्थ्य स्वयम् सेविकाहरुको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । सबै तहका स्वास्थ्यकर्मीहरुको पेशागत जिम्मेवारीका कारण मात्रै होइन उनीहरुको सेवाभावका कारण पनि जिल्ला पूर्ण खोपयुक्त हुँदै पूर्ण खोप सुनिश्चित तथा दीगोपना भएको जिल्लाका रुपमा घोषणा गर्न सकिएको कुरा बिर्सिनु हुँदैन ।
जन्मदेखि त्याईस महिनासम्मका बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोप खाएको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । पूर्ण खोप समन्वय समितिले बालकालिकाहरुले पाउनु पर्ने सबै एक दर्जन खोप पाएको सुनिश्चिता भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना भएको जिल्ला घोषणा गरिएको हो । जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे जस्तो भने यो घोषणा होइन । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खुला दिसामुक्त क्षेत्र घोषणाको जस्तो लापरवाही हुनै कुरै भएन । अनुगमन समितिले समेत एक पनि बालकालिकालाई खोप नछुटेको पाएन । प्रत्येक स्थानीय तहहरुले आफ्नो क्षेत्रलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेपछि मात्रै जिल्लालाई घोषणा गरिएको हो ।
मानव जीवनको रक्षा र शारीरिक प्रतिरक्षाका लागि विशिष्ठ भूमिका खेल्ने खोपले अहिलेका बालबालिकाको स्वास्थ्यलाई सुरक्षित मात्रै बनाएको छैन भविष्यलाई पनि सुरक्षित बनाएको छ । कम्तिमा पनि अहिलेका बालबालिकाहरुलाई भविष्यमा ती बाह्र किसिमका रोगहरुले सताउने छैनन् र उनीहरुले स्वस्थ्य जीवनको लाभ उठाउने छन् । स्वस्थ्य नागरिकले देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुई मत हुन सक्दैन । यो अवस्था देश निर्माणको आधार बन्ने छ ।