पुल खुल्ने समय विहान ९ बजे, नेपाल प्रशासनलाई पत्र १० बजे

0
932
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, असार २४ गते ।
भारतीय पेन्सनरहरुको पेन्सन भुक्तानीका लागि दार्चुला र जोलजिवी सीमानाकाको झोलुंगे पुल खोल्ने समय बुधवार विहान ९ बजे निर्धारण गरिएको थियो । पिथौरागढ जिल्ला प्रशासनको स्वीकृतिपछि मंगलवार (असार २३ गते) धारचुलाका एसडिएमले असार २४ देखि २६ गतेसम्मको पुल खुल्ने तालिका निर्माण गरी भारतका सम्बन्धित निकायहरुलाई लिखित पत्रचार समेत मंगलवार नै गरेका छन् । तर नेपालको प्रशासनलाई अन्तर्राष्ट्रिय सीमानाका खुल्नेबारे लिखिति जानकारी बुधवार विहान १० मात्रै दिइएको छ ।
धारचुलाको एसडिएम कार्यालयले आफ्नोतर्फका आधा दर्जन सरकारी निकायहरुलाई मंगलवार नै लिखित पत्राचार गरी आवश्यक तयारी गर्न भनिसकेको थियो । पिथौरागढ र डीडीहाटमा रहेको एसएसबी बाहिनी, धारचुलाको संयुक्त चिकित्सालय, खण्ड विकास अधिकारी धारचुला, धारचुला र जौलजिवीका थाना कोतवाली र भारतीय स्टेट बैंकका शाखाहरुलाई एसडिएम कार्यालयबाट लिखित पत्रचार गरिएको थियो ।
आफ्नोतर्फका सरकारी निकायहरुलाई सीमानाका खुल्ने तयारी गर्न लिखित निर्देशन दिएको एसडिएम कार्यालयले नेपालको प्रशासनलाई भने मौखिक रुपमा मात्रै जानकारी गराएको थियो । पुल खुल्ने दिन बुधवार विहान १० बजेसम्म पनि कुनै लिखित जानकारी प्राप्त नभएपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारीले एसडिएम कार्यालयमा टेलिफोन सम्पर्क गरेका थिए ।
नेपालको प्रशासनले लिखित जानकारी मागेपछि मात्रै धारचुलाको एसडिएम कार्यालयबाट इमेलमार्फत पत्र पठाइएको थियो । भारतीय निकायहरुलाई लेखिएको पत्रमै दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई बोद्धार्थ उल्लेख गरिएको थियो । ‘भारतीय निकायहरुलाई लेखिएको कम्प्युटर प्रिन्टको पत्रमा प्रमुख जिल्ला अधिकारी दार्चुलालाई बोद्धार्थ हातले लेखि थप गरिएको छ’ प्रशासन स्रोतले भन्यो ।
नेपाली प्रशासनलाई समयमै जानकारी नगराइदा खलंगाको पुल खोल्न ढिलाई भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले असार २० र २२ गते भारतीय फौजका पेन्सनरहरुको पेन्सन भुक्तानीका लागि सीमानाका खोल्न भारतको पिथौरागढ जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो ।
अढाई घण्टा ढिला खुल्यो पुल
खलंगाको सीमानाका बुधवार निर्धारित समयभन्दा अढाई घण्टा ढिला खुलेको छ । पिथौरागढका जिल्ला प्रशासनको लिखित स्वीकृति प्राप्त भएपछि धारचुलाका एसडिएमले असार २४ देखि २६ गतेसम्म विहान ९ बजेदेखि दिउसो १ बजेसम्म र अपरान्ह ३ बजेदेखि साँझ ६ बजेसम्म पुल खोल्ने तालिका बनाएका थिए ।
भारतीय प्रशासनले एकतर्फी रुपमा बनाएर घोषणा गरेको पुल खुल्ने तालिकाबारे नेपाली पक्षलाई औपचारिक रुपमा जानकारी गराउन समेत ढिलाई गरेको छ । नेपाली प्रशासनलाई लिखित जानकारी ढिलो गराउदा सिमानाका खुल्नमा ढिलाई भएको नेपाली अधिकारीले बताएका छन् ।
बुधवार विहान ११ः२० बजे मात्रै खलंगाको पुल खुलेको थियो । भारतीय पेन्सनरहरुलाई मात्रै भारत प्रवेश गर्न दिइएपछि मध्यान्ह १२ः०० बजे नै पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
धारचुलामा पेन्सन बुझ्न गएका ३६ जना पेन्सनरहरुलाई नेपाल फर्काउन बुधवार साँझ दोस्रो पटक पुल खोलिएको थियो । बुधवार १२ महिलासहित ३६ जना भारतीय पेन्सनरले धारचुलाबाट पेन्सन बुझेका छन् ।
भारतीय निकायहरुलाई यस्तो थियो निर्देशन
असार २३ गते पिथौरागढका डिएम डा. विजयकुमार जोगदण्डेले धारचुलाका एसडिएमलाई पेन्सनरहरुका लागि धारचुला र जौलजिवीको पुल खोल्न लिखित स्वीकृति दिएका थिए । असार २३ मै धारचुलाका एसडिएम अनिलकुमार शुक्लाले पुल खोल्न र सुरक्षा व्यवस्थापनका लागि आवश्यक तयारी गर्न भन्दै आधा दर्जन सरकारी निकायलाई लिखित पत्राचार गरेका थिए ।
संयुक्त चिकित्सालय धारचुलालाई पुल खुल्ने समयमा भारत भित्रिने नागरिकको स्वास्थ्य चेकजाँच गर्न भनिएको थियो । धारचुला आउने व्यक्तिलाई खण्ड विकास कार्यालय धारचुला र जौलजिवीबाट आउन व्यक्तिलाई पंचायत घर जौलजिवीमा स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउन भनिएको थियो ।
एसएसबीलाई बुधवार, विहिवार र शुक्रवार विहान ९ बजेखि दिउसो १ बजेसम्म भारत प्रवेश गर्न र अपरान्ह ३ बजेदेखि साँझ ६ बजेसम्म नेपाल फर्किन सीमानाका खोल्न भनिएको थियो । सीमानाकामा आवश्यक सुरक्षा व्यवस्था र चेकजाँच गर्न एसडिएम कार्यालयबाट लिखित निर्देशन दिइएको छ ।
धारचुला र जौलजिवीस्थित भारतीय स्टेट बैंक शाखाहरुलाई तत्काल र सहज रुपमा पेन्सनरहरुलाई सेवा उपलब्ध गराउन भनिएको छ । ब्लक सभागार धारचुला र पंचायत घर जौलजिवीमा कागजपत्र चेकजाँच गरी बैंकमा नगद भुक्तानीका लागि मात्रै पठाउन बैंकहरुलाई भनिएको छ ।
खण्ड विकास अधिकारी धारचुला र राजश्व उप निरीक्षक जौलजिवीलाई पेन्सन बुझ्न आउने नेपाली नागरिकहरुलाई बस्नको व्यवस्था गर्न भनिएको छ । धारचुला र जौलजिवी थाना कोतवालीका प्रभारी निरीक्षकहरुलाई बैंकबाहेक अन्य स्थलमा पेन्सनरहरुलाई जान नदिन भनिएको छ । पेन्सनरबाहेकका कुनै पनि नागरिकलाई भारत प्रवेश गर्न नदिन र पेन्सनरहरुलाई बजार क्षेत्रमा प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।
जौलजिवीमा पुल खुलेन
भारतीय पेन्सनरहरुका लागि जौलजीवि नाकाको पुल खुल्ने भनिएकोमा बुधवार खुलेको छैन । भारततर्फका स्वास्थ्यकर्मी समयमै नपुग्दा बुधवार पुल खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भारतीय प्रशासनले सीमानाका खोल्दा अनिवार्य रुपमा सबैको स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको थियो ।
विहान ९ बजेदेखि पुल खुल्ने भनिएको दिउसो ३ बजे मात्रै धारचुलाबाट स्वास्थ्यकर्मीको टोली जौलजिवि पुगेको प्रहरीले जनाएको छ । ३ बजेपछि बैंकिङ कारोबार गर्न सम्भव नभएपछि बुधवार जौलजिवी नाका खुल्न नसकेको दार्चुला प्रहरी प्रमुख पदमवहादुर विष्टले बताउनुभयो ।
जौलजिवीस्थित भारतीय स्टेट बैंकको शाखाबाट पेन्सन बुझ्नका लागि महाकाली नदी किनारक्षेत्रका दुई दर्जन पूर्व सैनिकहरु नेपालतर्फको जोलजिवी नाकामा पुगेका थिए । विहिवार र शुक्रवार भने निर्धारित समयतालिका अनुसार सीमानाका खोलेर पेन्सनरहरुलाई सुविधा दिने तयारी गरिएको छ । ‘दुबैतर्फको प्रशासनबीच समन्वय गरी छिटो र सहज रुपमा पेन्सनरहरुलाई सेवा दिने प्रयास गर्छौ’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भन्नुभयो ।
पिथौरागढका जिल्ला प्रशासनले बैतडीको झुलाघाट तथा दार्चुलाको खलंगा र जोलजिवी नाका खोेलेर भारतीय फौजका पेन्सनरहरुलाई पेन्सन भुक्तानीको व्यवस्था मिलाउन सहमति दिएको छ । यसअघि नेपालको प्रशासनबाट भारतीय फौजका पेन्सनरहरुको सुविधाका लागि सीमानाका खोल्न पत्राचार गरिएको थियो ।