पिसिआर मेसिन खरिद अनिश्चित

0
3056

दार्चुला, असार ११ गते ।
दार्चुलामा पिसिआर परीक्षण मेसिन खरिद गरी सञ्चालनमा ल्याउने विषय सेलाउदैछ । दुइ हप्ताअघि जिल्ला संकट व्यवस्थापन केन्द्र र स्थानीय तहका प्रमुखहरुले मेसिन खरिदको आवश्यकता ठहर गरेका थिए ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरी मेसिन खरिद गर्ने निस्कर्ष जेठ २९ गते निकालिएको थियो । पिसिआर मेसिन खरिद गर्न आवश्यक पर्ने रकम, जनशक्ति तथा भौतिक संरचना लगायतको व्यवस्थापन गर्न जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति बनाइएको थियो । जेठ २९ को बैठकले ‘विज्ञ समूहसंग आवश्यक परामर्श गरी यथाशक्य छिटो प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनको आधारमा कार्य प्रक्रिया अघि बढाउने’ निर्णय गरेको थियो ।
जेठ ३२ गते बसेको अर्को बैठकले ‘पिसिआर मेसिन खरिद लगायतको प्रक्रिया थालनी गर्न सम्भाव्यता अध्ययनका लागि विज्ञ बोलाउने’ निर्णय गरिएको छ । सोही बैठकले बजेट व्यवस्थापनका लागि स्थानीय तहसंग पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट दार्चुलाका नौवटै स्थानीय तहलाई यसबारे पत्राचार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताउनुभयो । स्थानीय तहका प्रमुखहरुबीचको अनौपचारिक छलफलमा नगरपालिकाबाट ४० लाख र गाउँपालिकाबाट ३० लाखका दरले रकम व्यवस्थापन गर्ने निस्कर्ष निकालिएको थियो । मालिकार्जुन गाउँपालिकाले मेसिन खरिदका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइसकेको जानकारी समेत सार्वजनिक गरेको छ ।
प्रशासन कार्यालयबाट विज्ञ टोलीबाट सम्भाव्यता अध्ययन गराउन प्रदेश स्वास्थ्य निर्देशनालयमा पत्राचार गरिएको छ । तर हालसम्म यसबारे कुनै प्रगति हुन नसकेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । ‘अहिलेसम्म विज्ञ टोली आएका छैनन्, सम्भाव्यता अध्ययन गरिएपछि मात्रै मेसिन राखिने वा नराखिनेबारे टुंगो लाग्छ’ उहाँले भन्नुभयो । मेसिन खरिद गर्नुपरेमा बजेटको सुनिश्चिता गर्ने गृहकार्य भने अघि बढाइएको उहाँले बताउनुभयो ।
जिल्लास्तरमा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनको पहल भए पनि यसबारे माथिल्लो निकाय सकारात्मक छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले दार्चुलामा पिसिआर मेसिन राखेर परीक्षण गर्न असम्भव रहेको प्रतिक्रिया दिएको महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले बताउनुभयो ।
पिसिआर मेसिनको सम्भाव्यता अध्ययनका लागि विज्ञ तोकिएका भाइरोलोजिस्ट श्रवणकुमार मिश्रले पनि जिल्ला संकट व्यवस्थापन केन्द्रका सदस्यहरुसंग आशलाग्दो कुरा गरेका छैनन् । केन्द्रका एक सदस्यका अनुसार ‘केही दिनभित्र बैतडी र डडेल्धुरामा पिसिआर मेसिन राखिदैछ, दार्चुलामा छुट्टै मेसिन राख्नु सम्भव र उपयुक्त छैन’ भन्ने सुझाव मिश्रले दिएका छन् ।
स्थानीय तहका प्रमुखहरुले भने दार्चुलामा छुट्टै पिसिआर मेसिन राख्नमा जोड दिएका छन् । ‘तत्काल मेसिन ल्याएर प्रयोगमा ल्याउन सके त ठिकै होला, तर मेसिन खरिद गरेर थन्क्याइने मात्र हो कि भन्ने चिन्ता पनि छ’ जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीले भन्नुभयो । पिसिआर मेसिन सञ्चालन गर्नु सजिलो नभएको स्वास्थ्यकर्मीहरुकै भनाई छ ।
संघीय सरकारले सुदूरपश्चिममा असार १५ गतेसम्म थप तीनवटा पिसिआर मेसिन उपलब्ध गराइने बताएको छ । बैतडी, डडेल्धुरा र डोटीमा पिसिआर मेसिन राख्ने गृहकार्य अघि बढिसकेको छ । मापदण्डनअुसारको पिसिआर परीक्षण ल्याव सञ्चालन गर्न यी जिल्लाहरुमा सम्भाव्यता अध्ययन पनि भइसकेको छ ।