पिथौरागढ चक्रपथको निर्माण एक दशकसम्म पूरा भएन

0
2410

दार्चुला, भदौ ९ गते ।
भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्ला मुख्यालयमा निर्माण सुरु गरिएको चक्रपथ (रिङरोड) एक दशकसम्म पनि पूरा हुन सकेको छैन । पिथौरागढ शहर र वरिपरीको क्षेत्रलाई समेट्ने गरी सन् २००६–२००७ मा रिङरोड निर्माण सुरु गरिएको थियो ।
एक दशकसम्म २० किलोमिटर लामो रिङरोडमध्ये १२ किलोमिटर मात्रै निर्माण भएको छ । उत्तराखण्ड राज्य निर्माण भएपछि जिल्ला सदरमुकाम क्षेत्रमा रिङरोडको योजना अघि बढाइएको थियो ।
उत्तराखण्ड राज्य सरकारले रिङरोड निर्माणका लागि २ करोड ८८ लाख भारतीय रुपैयाँ बजेट छुट्याएको छ । लोक निर्माण विभागले हालसम्म रिङरोड निर्माणमा २ करोड ३४ लाख भारतीय रुपैयाँ खर्च गरिसकेको छ ।
निर्माण हुन बाँकी ८ किलोमिटर सडक निर्माणलाई गति दिन स्थानीयले माग गरेका छन् । पिथौरागढ शहर नजिकका वस्तीहरुलाई जोड्नेगरी रिङरोड निर्माण गरिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शहरमा जनसंख्या वृद्धि भइरहेकाले रिङरोड निर्माणलाई छिटो पूरा गर्नु आवश्यक भएको निवर्तमान पिथौरागढ नगरपालिका अध्यक्ष जगतसिह खातीले बताउनुभयो । वनक्षेत्र र स्थानीयको जग्गा मुआब्जाका कारण रिङरोड निर्माणमा समस्या र ढिलाई भएको लोक निर्माण विभागका अधिशासी अभियन्ता नवीन जोशीले बताउनुभयो ।
पिथौरागढ नजिकका निराडा, पाँण, पपदेऊ, बण्डोली, भदेली, चैंसर, जीबी, घुनसेरा वस्तीलाई जोड्नेगरी रिङरोड निर्माण भइरहेको छ ।