पिथौरागढमा हवाइसेवा सुरु

2375

दार्चुला, माघ ३ गते ।
भारतको पिथौरागढ जिल्ला सदरमुकाममा विहिवारदेखि हवाइसेवा सुरु भएको छ । लामो प्रतिक्षापछि उत्तराखण्ड राज्य सरकारको पहलमा हवाइसेवा सञ्चालनमा आएको हो ।
केन्द्र सरकारको उडान योजनाअन्तर्गत उत्तराखण्डमा पहिलोपटक हवाइसेवा सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको केन्द्र सरकारले सहुलियत दरमा दुर्गम क्षेत्रमा हवाइसेवा उपलब्ध गराउन केही समयअघि उडान योजना सञ्चालनमा ल्याएको छ ।
विहिवार विहान १०ः२० बजे उत्तराखण्ड सरकारका वित्त तथा संसदीय कार्य मन्त्री प्रकाश पन्तसहितका यात्रुहरु देहरादूनबाट पिथौरागढको नैनीसैनी हवाइमैदानमा उत्रिएका हुन् । हेरिटेज एभिएसन नामको नीजि कम्पनीलाई उडान योजनाअन्तर्गत देहरादूनदेखि पिथौरागढसम्मको हवाइसेवा सञ्चालनको अनुमति दिइएको छ । देहरादूनबाट पिथौरागढसम्म ९ सिट क्षमताले जहाजबाट दैनिक हवाइसेवा दिइने उत्तराखण्डको अनलाइन पत्रिका राज्य समीक्षाले जनाएको छ ।
देहरादूनबाट विहान पिथौरागढ आइपुग्ने हवाइजहाजले पिथौरागढबाट पन्तनगर र पन्तनगरबाट पिथौरागढसम्मको हवाइसेवा पनि दिनेछ । पिथौरागढ र पन्तनगरबीचको हवाइसेवापछि दिउसो विमान पिथौरागढबाट देहरादून फर्किनेछ ।
पिथौरागढ बजार क्षेत्रका जनप्रतिनिधिसमेत रहेका उत्तराखण्डका वित्त मन्त्री प्रकाश पन्तले स्थानीय फुलमाला, अविर र बाजागाजाले स्वागत गरेका छन् । पिथौरागढका स्थानीयले पहिलो पटक विमान सेवा सञ्चालन भएकोमा खुशीयाली मनाएका छन् ।
वित्त मन्त्री पन्तले सिमान्त जिल्ला पिथौरागढका लागि विहिवारको दिन ऐतिहासिक भएको बताएका छन् । पिथौरागढसम्म हवाइसेवा सञ्चालन गर्न लामो समयदेखिको प्रयास सफल भएकोमा सबैलाई बधाई समेत दिएका छन् ।
१३ जिल्ला रहेको उत्तराखण्ड राज्यमा २ जिल्ला मात्रै तराई क्षेत्रमा पर्दछन् । पहाडी र हिमाली क्षेत्रका ११ जिल्लामध्ये हवाइसेवा सञ्चालन भएको पिथौरागढ पहिलो जिल्ला बनेको छ । हल्द्वानी र रुद्रपुर शहर नजिक रहेको पन्तनगर र उत्तराखण्डको अस्थायी राजधानी देहरादूनमा मात्रै हालसम्म हवाइसेवा उपलब्ध छ । देहरादूनदेखि पन्तनगरसम्मको हवाइसेवा केही महिनाअघि मात्रै सञ्चालनमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !