पिथौरागढमा विहिवारदेखि नियमित उडान

2512

दार्चुला, माघ २ गते ।
भारतको पिथौरागढस्थित नैनीसैनी हवाइमैदानबाट विहिवारदेखि नियमित उडान हुने भएको छ । लामो प्रतिक्षापछि जनवरी १७ देखि उत्तराखण्डको अस्थायी राजधानी देहरादून र तराइ क्षेत्रमा रहेको पन्तनगरसम्मको हवाइसेवा सुरु हुन लागेको हो ।
जनवरी १५ अर्थात मंगलवारदेखि नै हवाइटिकट बुकिङ खुला गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो दिनमै नौ दिनसम्मका सबै टिकट बुकिङ भइसकेको भारतीय पत्रिका दैनिक जागरणले जनाएको छ ।
देहरादूनदेखि पिथौरागढसम्म र पिथौरागढदेखि पन्तनगरसम्म दैनिक उडान हुने तालिका छ । प्रत्येक दिन विहान ९ः३० बजे देहरादूनबाट नौ सिट क्षमताको हवाइजहाजले उडान भर्नेछ । ५० मिनेटमा पिथौरागढको नैनीसैनी हवाइमैदानमा विमान अवतरण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पिथौरागढबाट १०ः४० बजे पन्तनगरसम्मको उडान हुनेछ भने पन्तनगरबाट उक्त विमान ११ः३० बजे हवाइ उडान हुनेछ । उक्त विमान मध्यान्ह १२ बजे पिथौरागढको नैनीसैनीमा अवतरण हुने समयतालिका छ ।
पिथौरागढबाट १२ः२० बजे देहरादूनका लागि विमानले उडान भर्नेछ । त्रिदेशीय सीमाक्षेत्र जोडिएको पिथौरागढ जिल्लामा अढाई दशकअघि सन् १९९१ मा हवाइमैदान निर्माण गरिएको थियो । गत वर्ष अक्टोवर ८ देखि पिथौरागढको नैनीसैनी हवाइमैदानबाट नियमित उडान सुरु गर्ने योजना थियो । तर हवाइमैदान नजिक केही भवनहरुले उडानमा प्राविधिक समस्या देखिएको भन्दै नियमित हवाइसेवाको सञ्चालनमा ढिलाइ भएको हो ।
सन् २०१६ मा विमानस्थलको रन वे १४ सय मिटरबाट बढाएर १६ सय मिटर बनाइएको छ भने चौडाई ४० मिटरबाट बढाएर ६० मिटर बनाइएको छ । रनवे को लम्बाई र चौडाई विस्तार गर्नुका साथै विमानस्थलको टर्मिनल भवन पनि निर्माण सम्पन्न भएको छ ।
भारतको नागरिक उड्डयन मन्त्रालयले हेरिटेज एभिएसन नामको नीजि कम्पनीलाई पिथौरागढसम्मको नियमित हवाइसेवा सञ्चालनको अनुमति दिएको छ । परीक्षण उडान सफल भए पनि नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति प्राप्त गर्न ढिलाइ हुँदा महिनौ प्रतिक्षा गर्नुपरेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
उत्तराखण्ड राज्य सरकारले नियमित हवाइसेवा सञ्चालनका लागि लामो प्रयास गरेको छ । हवाइसेवाको टिकट बुकिङ सुरु गरिएको ४ घण्टाभित्र नौ दिनसम्मको टिकट बुकिङ भइसकेको हेरिटेज एभिएसनले जनाएको छ । जनवरी १७ देखि २५ तारेखसम्मको हवाइटिकट बुकिङ भइसकेको अनलाइन टिकट बुकिङ काउन्टरका एजेन्ट अंकुरले बताउनुभयो ।
पहिलो पटक नियमित हवाइसेवा सञ्चालन गरिन लागेको पिथौरागढको नैनीसैनी हवाइमैदानमा सबै प्राविधिक तयारी पूरा भएको हेरिटेज एभिएसनका अपरेशन म्यानेजर सुभाष अंथवालले बताउनुभयो । नियमित उडानका लागि नैनीसैनी हवाइमैदानमा एयर ट्राफिक कन्ट्रोल (एटिसि), अग्नि नियन्त्रण (फायर सर्भिस), सेफ्टीसहितको सबै व्यवस्थापन पूरा भइसकेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !