पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास हुँदै

0
539

दार्चुला, असोज ३ गते ।

भारतको पिथौरागढमा नेपाल र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास हुँदैछ ।

भारतसँग संयुक्त सैनिक अभ्यासका लागि नेपाली टोली शनिबार पिथौरागढ पुगेको छ । पिथौरागढमा असोज ४ देखि हुने नेपाल–भारत १५ औं ‘सूर्यकिरण’ संयुक्त अभ्यास १४ दिन सम्म सञ्चालन हुनेछ ।

नेपाली सेनाका सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार भारतको उत्तराखण्डस्थित पिथौरागढमा हुन लागेको १५ औं सूर्यकिरण संस्करणमा दुवै मुलुकका तर्फबाट बटालियन स्तरको संयुक्त प्रशिक्षण हुनेछ । नेपालबाट ३०० जनाको पल्टन अभ्यासमा गएको छ भने जसमा तीनवटा कम्पनी रहेका छन् । नेपाली सेना र भारतीय सेना दुवै पक्षबाट अभ्यासमा महासेनानीले नेतृत्व गर्नेछन् । भारतीय सेना र नेपाली सेनाबीच प्रतिविद्रोह र जंगल कला अभ्यास हुने सैनिक प्रबत्ता पौडेलले जानकारी दिनुभयो ।

सेनाले सैनिक सम्पर्क वृद्धि गर्ने तथा सीप र कलाहरू आदान–प्रदान गर्ने उद्देश्यले दशकयता मुख्यगरी भारत, अमेरिका, चीन र बेलायतसँग अभ्यास गर्दै आइरहेको छ । सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोष बल्लभ पौडेलले कोभिड–१९ का कारण रोकिएका सैनिक अभ्यास, तालिम, सेमिनार र अन्य गतिविधिलाई अब अघि बढाउन लागेको जानकारी दिनुभयो । नेपाली सेनाका तर्फबाट ३ सय र भारतीय सेनाका तर्फबाट ३ सय ५० जना संयुक्त अभ्यासमा सहभागि हुने भारतीय पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ ।
भारतसहित अन्य मुलुकसँग गरिँदै आएको संयुक्त सैनिक अभ्यास सम्बन्धलाई पनि ती देशका सेनासँग गृहकार्य गरेर अघि बढाउने नेपाली सेनाको लक्ष्य छ । ‘चीन र अमेरिकासँग संयुक्त अभ्यासको सम्बन्धमा गृहकार्य भइरहेको छ, अमेरिकासँग छिट्टै मिति तय हुनेछ भने चीनसँग केही समयपछि निर्णय गर्ने योजना छ,’ सैनिक प्रवक्ता पौडेलले भन्नु भयो ।
नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ । एक वर्षमा नेपाल र भारतमा एक–एक पटक अभ्यास हुँदै आएकोमा कोभिड–१९ संक्रमण सुरु भएपछि रोकिएको थियो ।
नेपालले उत्तरी छिमेकी चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास गर्न थालेको हो, जसको दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भए पनि तेस्रो संस्करण कोरोना संक्रमणका कारण रोकिएको छ । चीनसँगको संयुक्त अभ्यासका लागि गृहकार्य भइरहेका प्रवक्ता पौडेलले बताउनु भयो । चीनसँग नेपालले प्रति आतंकवादको सामना गर्ने प्रशिक्षण गर्दै आइरहेको छ ।
अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रूपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेक नेल’ लाई अघि बढाएको हो । उक्त अभ्यास पनि कोरोनाकै कारण रोकिएको छ । अमेरिकासँग हुने विपद् व्यवस्थापनसम्बन्धी संयुक्त सैनिक अभ्यासको तयारी भने अन्तिम चरणमा पुगेको छ ।
बेलायती सेनाले वेल्समा गर्ने क्याम्ब्रिएन पेट्रोल नामक संयुक्त सैनिक अभ्यासमा नेपाली सैनिकले सहभागिता जनाउँदै आएका छन् । कोभिड–१९ संक्रमणका कारण ‘रेड लिस्ट’ मा परेको उक्त अभ्यासको सम्बन्धमा गृहकार्य अघि बढ्न सेकेको छैन । अन्य मुलुकले नेपालमै आएर अभ्यास गर्ने गरे पनि बेलायतले भने नेपाली सैनिकलाई उतै बोलाएर संयुक्त अभ्यास गर्दै आइरहेको छ ।