पिथौरागढमा दुइ दिनमा ११ लाख भारुको खुकुरी सिगरेट बरामद

0
2074

भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न
दार्चुला, मंसिर २३ गते ।
भारतको पिथौरागढ जिल्ला सदरमुकाममा दुइ दिनमा ११ लाख भारुको नेपाली सिगरेट खुकुरी बरामद गरिएको छ । पिथौरागढ प्रहरीले सडक क्षेत्र र पसलमा छापा मारी ठूलो मात्रामा अवैध सिगरेट बरामद गरेपछि झुलाघाटस्थित भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाइएको छ ।
मंसिर १९ गते पाँच लाख र २० गते ६ लाख भारतीय रुपैयाँको मूल्य बराबर खुकुरी सिगरेट बरामद गरिएको थियो । बैतडीको सिमानाका झुलाघाट भएर भारतमा प्रतिबन्धित सिगरेट भित्रिएको पिथौरागढ प्रहरीले जनाएको छ ।
झुलाघाटस्थित भारतीय भन्सार र एसएसवीको सुरक्षा पोष्टको निगरानी पुग्न नसकेको भन्दै आलोचना भएको छ । सडक मार्ग भएर सिगरेट पिथौरागढसम्म ढुवानी गरिएकोले सडक क्षेत्रमा पर्ने सुरक्षा चौकी र पुलिसकै भूमिकामा पनि प्रश्न उठेको छ । नेपाल र भारत दुबैतर्फ धुम्रपानजन्य पदार्थको ओसारपोसारमा प्रतिबन्ध छ ।
लामो समयदेखि व्यापारीले भन्सार र सुरक्षा निकायकै मिलेमतोमा पिथौरागढसम्म नेपाली सिगरेट ल्याउने गरिएको आशंका छ । झुलाघाटदेखि पिथौरागढसम्म भारतीय भन्सारको कार्यालय, एसएसवी र उत्तराखण्ड पुलिसको थाना र चौकी पर्दछन् । तर कुनै पनि पोष्टले सिगरेट बरामद नगरेकोमा प्रश्न उठेको छ । पिथौरागढ प्रहरी प्रमुख एसपी आरसि राजगुरु आफुले मंसिर १९ गते राती छापा मारेर सिगरेट बरामद गरेका थिए ।
झुलाघाटमा भारतीय भन्सार र एसएसवीको चेकपोष्ट छ । साथै पुलिसको थाना पनि झुलाघाटमा रहेको छ । पिथौरागढ जोड्ने सडकअन्तर्गत वड्डामा पुलिसको चौकी पनि छ । आधा दर्जन चेकपोष्ट छलेर पिथौरागढसम्म नेपाली सिगरेट खुला रुपमा विक्रीवितरण भइरहेकोमा भारतीय सञ्चारमाध्यमले प्रश्न उठाएका छन् । पिथौरागढमा भन्सार विभागको कार्यालय समेत रहेको छ । तर सानोदेखि ठूलो किराना पसलसम्म खुला रुपमा नेपाली सिगरेट विक्रीवितरण भइरहेको भारतीय पत्रिका दैनिक जागरणले खवर लेखेको छ ।
दुई दिनको प्रहरी सक्रियताले ११ लाख भारु बराबरको सिगरेट बरामद गरिएसंगै मासिक डेढ करोड र वार्षिक १५ करोड भारुको नेपाली सिगरेटको कारोबार भइरहेको अनुमान गरिएको छ । भारतीय सिगरेट महंगो भएकोले धेरै उपभोक्ताको रुचीमा नेपालको खुकुरी चुरोट रहेको छ ।
भारतमा धुम्रपानलाई निरुत्साहित गर्न कर बढाएकोले भारतीय सिगरेट महंगो रहेको दैनिक जागरण पत्रिकाले जनाएको छ । नेपाली सिगरेट सस्तो र लोकप्रिय भएकोले उपभोक्ताका माग धेरै छ ।