पिथौरागढमा अबैध उत्खननमा एक नेपाली कामदारको मृत्यु, घटना लुकाईयो

0
1081

दार्चुला, माघ २५ गते ।
भारतको पिथौरागढमा अबैध उत्खननका क्रममा एक जना नेपाली मजदुरको मृत्यु भएको छ । उत्खननका क्रममा माथिबाट ढुङ्गा खस्दा मृत्यु भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । नेपाली कुन ठाउँका हुन भन्ने समाचारमा खुलाइएको छैन ।

अबैध उत्खननमा नेपाली मजदुरलाई काममा लगाएका उत्खनन माफियाहरुले मृत्यु बारे प्रशासन वा प्रहरीलाई जानकारी नगराई शव नेपाल पठाउन झुलाघाट पठाइएको अमर उजालाले जनाएको छ । पिथौरागढ जिल्ला सदरमुकाम भन्दा १० किलोमिटर टाढा रहेको नैनीसैनी हवाई स्थल भन्दा नजिक कनारी पाभै भन्ने ठाउँमा लामो समय देखि अबैध रुपमा उत्खनन हुदै आइरहेको थियो । शुक्रबार एक जना स्थानियले तीनजना नेपाली कामदारलाई उत्खननको काममा लगाएका थिए ।
उत्खननको क्रममा माथिबाट ढ्ङ्गा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको तथा दुई जना घाइते भएको बताइएको छ । एक दिनपछि घटनाको जानकारी भएपछि स्थानिय जनप्रतिनीधिहरु घटनाको अनुसन्धानको माग गर्दै पिथौरागढ जिल्ला अधिकारीको कार्यालयमा पुगेका थिए । अबैध उत्खननका कारण गरिब नेपाली मजदुरको मृत्यु हुदाँ समेत प्रशासनलाई जानकारी समेत नहुदै मृतकको अन्तेष्टी गरिएको प्रति डीएम कार्यालय पुगेका सेवानिवृतत क्याप्टन महादेब भट्ले आपत्ती जनाएका छन् । स्थानिय जनप्रतिनीधिहरुले उत्खनन माफियाहरुले केहि पैसा दिएर मजदुरको शब झुलाघाट पठाएर घटना लुकाउन खोजेको ओरोप लगाएका छन् । घटनाको उच्च स्तरीय जाँच गरिनुपर्ने उनिहरुको माग छ ।
स्थानिय जनप्रतिनिधीहरुबाट नेपाली मजदुरको खन्नका क्रममा मृत्यु भएको जानकारी पाएको र घटनाको जाँचका लागि तहशिलदारलाई जिम्मेवारी दिएको पिथौरागढ जिल्लाअधिकारी विजयकुमार जोगदण्डेको भनाई छ ।
कनारी पाभैमा अबैध उत्खननका क्रममा नेपाली मजदुरको मृत्यु भएको जानकारी प्राप्त भएको र जाँचका लागि टोली खटाइएको पिथौरागढका प्रभारी तहशिलदार पंकज चन्दोलाको भनाई छ ।

विमानस्थल क्षेत्र नजिक कसरि हुन्छ अबैध उत्खनन

पिथौरागढ जिल्ला सदरमुकामबाट १० किलोमिटर नजिक रहेको नैनीसैनी विमानस्थल क्षेत्र नजिक कनारी पाभैमा लामो समय देखि उत्खनन माफियाहरुले अबैध उत्खनन गरिरहेका थिए । स्थानिय जनप्रतिनीधि तथा स्थानियहरुले यसको विरोधमा कयौ पटक प्रशासनमा उजुरी गरेपनि अबैध उत्खनन रोक्ने कुनै काम नगरिएको भारतीय पत्रिका अमर उजालाले समाचारमा लेखेको छ । अबैध उत्खननको गरि सामग्री निर्यातका लागि सडकमा ठूला–ठूला सवारी साधनको प्रयोग गर्दा सडकहरुको अवस्था समेत विग्रिरहेको स्थानियहरुको भनाई छ । सन् २०१९ मा अबैध उत्खननका कारण खसेका ढुङ्गाका कारण उक्त क्षेत्रका केहि घरहरुमा समेत क्षती पुगेको थियो । कयौ पटक अबैध उत्खनन रोक्नका लागि पिथौरागढ जिल्ला प्रशासनलाई अनुरोध गरेपनि हाल सम्म रोक्न कुनै प्रयास नगरिएको स्थानिय महादेब भट्टको भनाई छ छ । अबैध खन्नका क्रममा भविष्यमा नैनीसैनी विमानस्थल सहित उक्त क्षेत्रका गाउँहरु जोखिममा पर्न सक्ने स्थानियहरुको भनाई छ ।