पिथौरागढको हवाइमैदानमा एरोनोटिकल सर्भे गरिने

0
2379

दार्चुला, मंसिर २० गते ।
पिथौरागढको नैनीसैनी हवाइमैदानमा नियमित उडान सञ्चालनका लागि एरोनोकिल सर्भे गरिने भएको छ । एरोनोटिकल सर्भे भनेको हवाइजहाज अवतरण गर्दा आउने समस्याको परीक्षण हो । हवाइमैदान नजिकका आधा दर्जन भवनहरुले जहाज अवतरणमा समस्या भएको बताइए पनि यस्तो परीक्षण गरिने भएको हो ।
एरोनोटिकल सर्भेको प्रतिवेदनपछि भारतको नागरिक उडड्यन विभागले विमान सञ्चालनको स्वीकृति दिने भारतीय सञ्चारमाध्यम दैनिक जागरणले समाचार लेखेको छ । विमान अवतरणमा कुनै समस्या वा अवरोध नआएमा विभागले नियमित उडानको अनुमति दिने भएको छ ।
एक महिनाअघि उद्घाटन गरिएको पिथौरागढको हवाइसेवा प्राविधिक कारणले सञ्चालन हुुन सकेको छैन । हवाइसेवा सञ्चालनका लागि दिल्लीमा गृहकार्य भइरहेको केन्द्रीय कपडा राज्यमन्त्री अजय टमटाका सचिवले बताएका छन् । केही दिनअघि मात्रै नागरिक उड्डयन सचिवको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधिबीच यसबारे छलफल गरिएको छ ।
सचिव नेतृत्वमा भएको छलफलले एरोनोटिकल सर्भे गर्ने निस्कर्ष निकालेको छ । सर्भेमा कुनै समस्या नदेखिएमा विमान सञ्चालनको स्वीकृति पाइने राज्यमन्त्री टमटाको सचिवालयले जनाएको छ । हवाइमैदानमा उडान सञ्चालन गर्न आधा दर्जन भवनले अवरोध गर्ने जनाइएको छ । यीमध्ये चारवटा भवन भत्काउनुपर्ने अवस्था रहेको अहिलेसम्मको अध्ययनले देखाएको छ ।
पिथौरागढको नैनीसैनी हवाइमैदानमा हालसम्म सैनिक र सरकारी जहाज मात्रै अवतरण गरिएको छ । सर्वसाधारण नागरिकलाई बोक्ने जहाज सञ्चालनका लागि नागरिक उड्डयन विभागले स्वीकृति अनिवार्य चाहिन्छ । अहिलेसम्म सर्वसाधारणका लागि जहाज सञ्चालन हुन सकेको छैन । यद्यपि अक्टोवर ८ र ९ मा केही नेताहरु देहरादूनबाट पिथौरागढको नैनीसैनी हवाइमैदानमा उत्रिएका थिए ।