पिथौरागढको स्थानीय चुनावमा काग्रेसलाई झट्का

2584

दार्चुला, मंसिर ८ गते ।
भारतको पिथौरागढ जिल्लाअन्तर्गत ५ वटा नगरमा भएको निर्वाचनमा काग्रेस पार्टीको कमजोर प्रदर्शन रहेको छ । गत आइतवार मतदान भई मंगलवार सार्वजनिक भएको मतपरिणामअनुसार ५ स्थानीय निकायमध्ये कुनै पनि स्थानमा काग्रेसको जित हुन सकेन ।
चारवटा स्थानीय तहमा भारतीय जनता पार्टी (भाजपा)का प्रत्यासी विजयी भएका छन् भने एउटा निकायमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् । पिथौरागढ र डीडीहाट नगरपालिका तथा बेरिनाग नगर पंचायतमा काग्रेस उम्मेदवार तेस्रो स्थानमा सीमित भएका छन् ।
पिथौरागढ नगरपालिका अध्यक्षमा भाजपा उम्मेदवार राजेन्द्रसिह रावतले ६ हजार १ सय १३ मत प्राप्त गरी विजयी भएका छन् । रावतका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार शमशेर महरले ५ हजार ९६ मत ल्याएका छन् । काग्रेस उम्मेदवार जगतसिह खातीले ४ हजार ८ सय ३ मत प्राप्त गरेका छन् । खाती अघिल्लो कार्यकालमा पिथौरागढ नगर अध्यक्ष समेत रहेका थिए ।
डीडीहाट नगरपालिकामा भाजपा उम्मेदवार कमला चुफाल १ हजार ४१ मत प्राप्त गरी नगर अध्यक्षमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार धाना देवी ९ सय ५७ मतसहित दोस्रो स्थानमा छन् भने काग्रेस उम्मेदवार हेमन्ती भण्डारीले २ सय २६ मत मात्रै प्राप्त गरेका छन् ।
तुलनात्मक रुपमा काग्रेस बलियो रहेको धारचुला नगरपालिकामा पनि भाजपाको कमल फुलेको छ । भाजपा उम्मेदवार राजेश्वरी देवी १ हजार ४३ मतसहित नगर अध्यक्षमा निर्वाचित भएका छन् । काग्रेसका लक्ष्मी गुंज्यालले ७ सय ६१ मत प्राप्त गरेका छन् ।
गंगोलीहाट नगरपालिकामा भाजपा उम्मेदवार जयश्री पाठकले ८ सय ३० सहित अध्यक्षमा विजय हासिल गरेका छन् । काग्रेस उम्मेदवार सुनिता रावलले ६ सय ७८ मत ल्याएका छन् ।
बेरिनाग नगर पञ्चायतमा स्वतन्त्र उम्मेदवार हेम पन्तले १ हजार ६ सय ७८ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । पन्त काग्रेसका विद्रोही उम्मेदवार हुन् । भाजपा उम्मेदवार महेशचन्द्र पन्तले ५ सय ३९ र काग्रेस उम्मेदवार रविन्द्र सिंहले २ सय ३१ मत ल्याएका छन् ।
पिथौरागढ जिल्लाभरीका ५ नगरमा भएको निर्वाचनमा काग्रेसले कमजोर नतिजा प्राप्त गरेको छ । केन्द्र र राज्य सरकारमा नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले स्थानीय निकायमा पनि आफ्नो पकड जमाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !