पावर हावसमा खोला:पसल डुबानमा, स्थानिय भन्छन् सरकारले आफ्नै सम्पतीको संरक्षण गरेन हामीलाई के हेथ्र्याे

0
962

विद्युतिय सम्पतीको संरक्षण गर्ने दायित्व विद्युतको होः साहयक प्रजिअ कुवँर ।

दार्चुला, साउन ७ गते ।
गत साउन ४ गते राती परेको अविरल बर्षाका कारण महाकाली नगरपालिका वडा नं ३ लास्कु खोलामा बाढी आउदा डुङरी जलविद्युत आयोजनाको पावर हावस डुबानमा पर्नुका साथै त्यस क्षेत्रमा रहेका पसलहरुमा समेत क्षती पुगेको छ ।
खोलमा आएको बाढीले नदीको धार नै परिबर्तन भई डुङरी पावर हावस सहित छेउका पसलहरुबाट खोला बगिरहेको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण अन्र्तगतको जलविद्युत आयोजनाको पावर हावसमा खोला बगिरहदा सरकारी स्तर वा सरोकारवालाहरुबाट सरकारी सम्पती संरक्षणमा कुनै चासो देखिएको छैन ।
विगत ३ दिनदेखी खोला पावर हावसबाट बगिरहेको र भित्र रहेका मेसिनहरु पानीले डुबिरहेको, घर पसलहरु डुवानमा रहेको अवस्थामा पनि सरोकारवालाहरुले सरकारी सम्पती संरक्षण र नागरिकहरुलाई उद्धारको विषयमा चासो नदेखाएको स्थानिय दान सिह महराले गुनासो गर्नुभयो ।
‘पावर हावसका उपकरण पानीले डुवानमा छन्, सरकारले आफ्नो सम्पती संरक्षण त गर्न सकेन हाम्रो के हेथ्र्याे ’ स्थानिय महराले भन्नुभयो ।
लास्कु खोलाको बाढीले स्थानियहरुका ३ पसल र २ घर पुर्ण रुपमा क्षती गरेको छ भने थप २ पसल र तिन घरहरु डुबानमा परेको उहाँले जानकारी दिनुभएको छ ।
घर र पसलहरु डुबानमा परेकोले डुङरी मन्दिर परिसरमा टेन्ट लगाएर बसिरहेको र कुनै तहको सरकारले आफुहरुलाई नहेरेको स्थानिय माना देबी कार्कीले गुनासो गर्नुभयो ।
बाढीले समस्यामा छौ, सरकारले सुख दुःख समेत सोधेको छैन उहाँले भन्नुभयो ।
उक्त बाढीले पावर हावसमा क्षती पुगाउनका साथै एक मोटरसाइकल र एक जीपमा समेत क्षती पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
साउन ५ गते डुङरी पावर हावस क्षेत्रमा नदीको धार परिबर्तन गर्नका लागी जेसिबि लगिएको भएपनि मालबेला क्षेत्रमा सडक अवरुद्ध भएका कारण जेसिबि लग्न नसकिएको नेपाल विद्यत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहको भनाई छ ।
‘जेसिवि लगेका थियौ, मालबेला क्षेत्रमा बाटो खुलाउनमै अध्यारो भयो, हाम्रो उपकरणमा पानीले क्षती गरिसक्यो, बाटो खोल्नमै ठिक्क हुने भएकाले दोस्रो दिन जेसीबि लगेनौ’ प्रमुख शाहले भन्नुभयो ।
पावर हावसमा पानी भएकाले भित्र जान नसकिएकाले उपकरणहरुको अवस्था बारे जानकारी नभएको उहाँको भनाई छ ।
पावर हावस डुबानले विद्युत उत्पादन बन्द भएको बारे केन्द्रमा जानकारी गराएको छु, माथिबाट टोली आएर बुझ्छ उहाँले भन्नुभयो । उपकरणहरुमा पानी परिसकेकोले डुङरीबाट विद्युत प्रसारण गर्न कम्तीमा एक महिना लाग्न सक्ने प्रमुख शाहको भनाई छ ।
डुङरीबाट विद्युत वितरण भएका बस्तीहरुमा राष्ट्रिय प्रसारण लाईनको विद्युत जोडिएर विद्युतीकरण सुचारु गरिएको र महाकाली नगरपालिकाको वडा नं ३ मुल्ला र मैखोली क्षेत्रमा एक ठाउँमा पोल खोलाले क्षती गर्न सक्ने अवस्थालाई आकलन गरेर विद्युत लाईन सुचारु नगरिएको उहाँको भनाई छ ।
नदीको धार परिबर्तन नभएसम्म पावर हावसमा पानी आइरहने भएकाले मालबेला क्षेत्रमा सडक सुचारु गर्नका लागी महाकाली नगरपालिकालाई आग्रह गरिएको प्रमुख शाहले बताउनुभयो ।
‘सडक सुचारु भएपछि जेसीबी लग्छौ, पानीको धार परिबर्तनका लागी जाली हाल्ने तयारी पनि भइरहेको छ’ विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख शाहले भन्नुभयो ।
नदी क्षेत्रमा धार परिबर्तनका लागी डोजर चलाउदाँ झन् क्षती हुन सक्ने अवस्थाको आकलन गरेर पावर हावस क्षेत्रको नदीमा डोजर चलाउन नसकिएको महाकाली नगरपालिकाका प्रबत्ता एबं वडा नं ४ का वडाध्यक्ष पुस्कर राज जोशीको भनाई छ ।
प्रदेश सरकारले माथि काटेको सडकका कारण मालबेला क्षेत्रमा बेला बेला सडक अवरुद्ध भइरहेको उहाँको भनाई छ ।
प्रदेश सरकारको सडक समस्याको कारण मात्रै बनेको छ उहाँले भन्नुभयो ।
उक्त क्षेत्रमा डुवानमा परेका पसहरु सार्वजनिक जग्गामा बनेका र स्थानियहरुको अन्य क्षेत्रमा पनि घर भएको अवस्था रहेकाले जनताहरु समस्यामा नरहेको प्रबत्ता जोशीको भनाई छ ।
सार्वजनिक जमिनमा बनेका पसलहरुमा मात्रै उक्त क्षेत्रमा क्षती पुगेको हो, क्षती पुगेकाहरुको अन्य ठाउँमा पनि घर भएकाले घरबारबिहिन हुनुपर्ने अवस्था छैन, प्रबत्ता जाशीले भन्नुभयो । महाकाली नगरपालिकाले बर्षादको समयमा भएको क्षतीको विबरण संकलन गरिरहेको र क्षती पुगेकाहरुको नगरपालिकाले उचित राहत वा क्षतीपुर्ती दिने उहाँले बताउनुभएको छ । विद्युतले माग गरेका जालीहरु प्रशासनले उलब्ध गराएको र विपदमा सबैले मिलेर कामहरु गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको भनाई छ ।

बाढीले डुबानमा परेको डुङरी क्षेत्र

पावर हावसमा पानी गएर सामग्रीहरुमा क्षती भइरहेकाले सम्पतीको समयमै संरक्षण गर्ने दायित्व विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाको भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरको भनाई छ ।  संरक्षण बारे थप छलफल गरिने उहाँको भनाई छ ।