पालो वडा सरकारको

0
898

कोरोना संक्रमणलाई रोक्न सरकारले विभिन्न तयारी गर्दै आएको छ । मंगलवार मात्र चिनबाट औषधिजन्य सामग्री ल्याइएको छ । सबै प्रदेशमा कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि केही थान पिपिई पनि बाडिएको छ । हवाई उडान, आवागमन, यातायत, बजार पछिल्लो पटक बन्द भएका क्षेत्र हुन् । बिनाकाम सडकमा निस्कन बन्देज गरिएको छ । अत्यावश्यक सामान बाहेकका पसलहरु बन्द गरिएका छन् । सबै नागरिकलाई सामाजिक दुरी बनाई राख्न आग्रह गरिएको छ । जिल्लाकै कुरा गर्ने हो भने पनि भारतसँग जोडिने पुलहरु बन्द गरिएका छन् । लामो र छोटो दुरीको सडक यातायात बन्द गरिएको छ । सबै पालिकाहरुले आफ्नो सीमा क्षेत्रमा स्वास्थ्य डेस्क निर्माण गर्न भ्याएका छन् । सम्भवतः देश र जिल्ला बाहिरबाट आएका स्थानीयको तथ्याङ्क समेत सङ्कलन गर्न लागिएको होला । सदरमुकाम बजारको अवस्था बाहेक अन्यतिर स्थानीयहरु खासै बाहिर ननिस्केको देख्दा कथित सहरियाभन्दा पनि ग्रामीण जनजीवन सभ्य र अनुशासित भएको आँकलन गर्न सकिने भएको छ । तर ग्रामीण क्षेत्रमा पनि जिल्ला र देश बाहिरबाट आएका कयन नागरिकहरु छन् । उनीहरुको अवस्था, उनीहरुको पारिवारिक र सामुदायिक सम्बन्धका बारेमा पनि जानकार हुनु जरुरी छ ।
दार्चुलाका स्थानीय कोही पनि कोरोना संक्रमित छैनन् । अब देखिए भने जिल्ला वा देश बाहिरबाट आउनेहरुले संक्रमण ल्याएको प्रष्टै हुने हो । कुन क्षेत्रका नागरिकमा पहिले संक्रमण देखिन्छ त्यसको आधारमा सो क्षेत्र पुरैलाई क्वारेन्टाइन बनाएर त्यो समुदायका अन्य नागरिकलाई पनि नजरबन्द गर्नु पर्ने अवस्था सिर्जना हुन सक्छ । त्यो अवस्था आउन नदिन अबको केही दिन स्थानीय सरकारको वडा कार्यालय निक्कै सक्रिय हुनु पर्ने देखिन्छ । बाहिरबाट आएका प्रत्येक नागरिकको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरुलाई परार्श दिई घरमै छुट्टै बस्ने अवस्था सिर्जना गराउने, कम्तिमा पनि उनीहरुलाई दुई हप्तासम्म निगरानीमा छुट्टै राख्न सके संक्रमण फैलिन अवस्था निक्कै कम हुनेछ । जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयले घरघरको तथ्याङ्क लिने समय र अवस्था पनि छैन तसर्थ वडा कार्यालयले अबको केही दिन भित्रै बाहिरबाट आएकाहरुलाई घर भित्रै छुट्टै राख्ने प्रवन्ध मिलाउनु पर्छ । आवश्यकता अनुसार अन्य वडा, स्थानीय सरकार, प्रहरी वा स्थानीय प्रशासनबाट समेत सहयोग लिएर बाहिरबाट आएकाहरुलाई सकेसम्म घरमै छुट्टै राख्ने, नभए पालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राख्ने त्यति पनि नभए सदरमुकाममा रहेको क्वारेन्टाइनमा राखेर निगरानी राख्ने अवस्था सिर्जना गर्न वडाहरुले सक्रियता देखाउनै पर्ने हुन्छ । यो सक्रियाता कुनै व्यक्ति मात्रै सुरक्षित हुने छैन पुरै समुदाय र देश सुरक्षित हुने अवस्था सिर्जना हुनेछ ।