पाठ्यपुस्तक दिवसकै दिन दार्चुलामा पुस्तक वितरण

0
277
दार्चुला,वैशाख ६ गते ।
दार्चुलामा पाठ्पुस्तक दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक वितरण गरिएको छ । मंगलबार विद्यार्थीलाई यस वर्ष भर्नासँगै स्वागत गरिएको र किताब वितरण गरेर शुभकामनासहित घर पठाइएको महेन्द्र नमुना माबि खलंगाका प्रधानाद्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । दार्चुलामा आधारभूत तह र माध्यमिक तहमा गरी झण्डै २३ हजार विद्यार्थी अध्ययनरत छन् । भर्ना सप्ताहभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने गरी वितरण कार्य भइरहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनु भयो । सुदूरपश्चिमको दार्चुला, बझाङ, बाजुरालगायत विकट जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको जनक शिक्षा सामग्री केन्द्र धनगढीका प्रमुख धुब्रराज पन्तले जानकारी दिनुभयो । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीबाट सबै पहाडी जिल्लामा पुस्तक पठाइसकेको उहाँले बताउनुभयो । माग भएको अधिकांश पुस्तक जिल्लामा ल्याएर विद्यालयहरुलाई वितरण गरिसकेको चौलानी पुस्तक पसल खंलगाका सञ्चालक मनोहर सिंह डांगाले जानकारी दिनुभयो । शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुसी लागेको विद्यार्थीहरुले बताएका छन् । गत वर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाउदा पढाइमा समास्या भएको थियो । यो वर्ष विद्यालयमा भर्ना हुने वित्तिक्कै किताब पाउदा विद्यार्थीहरु खुसी भएका छन् । दार्चुलाका अधिकासं विद्यालयमा पुस्तक पुगिसकेको बताइएको छ । मंगलबार विभिन्न विद्यालयमा पुस्तक दिवसको अवसरमा पुस्तक वितरण गरिएको छ ।