पाँच हेक्टर भारतीय जमिन नेपालबाट अतिक्रमण !

0
398

दार्चुला, भदौ १४ गते ।
छिमेकी भारतबाट नेपाली भूमि अतिक्रमण हुदैआएको विषय नयाँ होइन । देशभरका ७२ स्थानमा भारतबाट नेपाली भूमि अतिक्रमण भएको तथ्य लामो समयदेखि सार्वजनिक हुँदैआएको छ । तर, कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा नेपालले ५ हेक्टर भारतीय भूमि अतिक्रमण गरेको आरोप सार्वजनिक भएको छ ।
भारतीय पत्रिका हिन्दुस्तान दैनिकले २३ जुन २०२२ मा यसबारे समाचार सार्वजनिक गरेको छ । भारतको चम्पावत जिल्लाअन्तर्गत पर्ने सीमाक्षेत्रमा नेपाली पक्षबाट ५ हेक्टर भारतीय भूमि अतिक्रमण भएको समाचारमा उल्लेख छ । सन् १९९५ देखि ब्रह्मदेव क्षेत्रमा रहेको भारतीय वनक्षेत्रमा नेपाली नागरिकले अतिक्रमण गरेको आरोप भारतीय पक्षको छ ।
उत्तराखण्डको वन विभागले शारदा (महाकाली) नदी तटीय क्षेत्रमा ३० वर्षदेखि नेपाली पक्षबाट भूमि अतिक्रमण हुँदैआएको जनाएको छ । वन विभागका रेन्जर महेश सिंह विष्टलाई उद्दृत गर्दै हिन्दुस्तान दैनिकले नेपालसंग सीमा जोडिएको भारतीय वनक्षेत्रको झण्डै ५ हेक्टर जमिन अतिक्रमणमा परेको बताएका छन् ।
वन विभागले भूमि अतिक्रमणको विषयमा उत्तराखण्ड सरकार र भारतको केन्द्रीय गृह मन्त्रालयलाई जानकारी गराइसकेको समाचारमा उल्लेख छ । अतिक्रमित भूमिको विषयमा नेपाली पक्षसंग लामो समयदेखि विवाद हुँदैआएको भारतीय पक्षको भनाई छ । वन विभागका साथै एसएसवीले पनि भूमि अतिक्रमणको विषयमा माथिल्लो निकायलाई जानकारी पठाएको छ । एसएसवीका सहायक कमान्डेन्ट अभिनव तोमरले पछिल्लो समयमा कुनै पनि प्रकारको भूमि अतिक्रमण नभएको बताएका छन् ।
कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारतीय सुरक्षा निकायबाट समय–समयमा अतिक्रमण हुने गरेको नेपाली पक्षको आरोप मात्रै होइन तितो भोगाइ पनि छ । सिमा अतिक्रमणबारे जनस्तरबाट विरोध र प्रतिरोध भइरहने प्रमुख स्थानमध्ये ब्रह्मदेव क्षेत्र पर्दछ । भारतीय सुरक्षा निकायहरुले समय समयमा नेपालीका घर–टहराहरु र जमिन अतिक्रमण गर्दैआएको विषय धेरै वर्षदेखि उठ्दैआएको छ ।
नेपाली नागरिकले निर्माण गरेको पक्की घर र भवनका साथै कच्ची घर–टहरा बनाइएको क्षेत्रलाई भारतीय पक्षले आफ्नो भूमि दावी गरिरहेको छ । जबकि नेपाली नागरिकले दशकौंदेखि उक्त क्षेत्रको वैधानिक रुपमा चलनभोग गर्दैआएका छन् ।
भारतबाट अतिक्रमित क्षेत्रको मुद्दालाई ओझेल पार्नका लागि नेपाली पक्षमाथि भूमि अतिक्रमणको आरोप लगाइएको नेपाली पक्षको बुझाइ छ ।