पाँच स्थानीय तहमा अनुदानको तेस्रो किस्ता निकासा

2046

दार्चुला, माघ २२ गते ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले पाँच स्थानीय तहमा वित्तिय समानिकरण अनुदानको तेस्रो किस्ता निकासा गरेको छ । सोमबार नौगाड, व्यास, दुहुँ, अपिहिमाल गाउँपालिका र महाकाली नगरपालिकामा निकासा गरिएको कोलेनिकाले जनाएको छ ।
तेस्रो किस्ताका लागि माग गर्ने पाँचवटै स्थानीय तहमा वित्तिय समानिकरण अनुदान निकासा गरिएको निमित्त कोष नियन्त्रक इन्द्र सिंह धामीले बताउनुभयो । मार्मा, मालिकार्जुन र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाले तेस्रो किस्ता निकासाको माग नगरेको उहाँले बताउनुभयो ।
स्थानीय तहमा सुत्र लेखाप्रणाली कार्यान्वयन गरिएपछि स्थानीय तहको सबै आर्थिक विवरण अनलाइनबाटै हेर्न सकिने कोलेनिका दार्चुलाका निमित्त प्रमुख धामीले बताउनुभयो । ‘केही स्थानीय तहमा अनुदानको दोस्रो किस्ता पुषमा मात्रै निकासा भएकोले सबै रकम खर्च नभएको हुनसक्छ’ उहाँले भन्नुभयो ।
नौगाडमा २ करोड ५१ लाख ७५ हजार, व्यासमा २ करोड ८ लाख २५ हजार र दुहुँमा २ करोड १४ लाख २५ हजार रुपैयाँ वित्तिय समानिकरणको तेस्रो किस्तावाफत निकासा गरिएको कोलेनिकाले जनाएको छ । यसैगरी, अपिहिमाल गाउँपालिकामा १ करोड ६५ लाख २५ हजार र महाकाली नगरपालिकामा ३ करोड ३२ लाख निकासा दिइएको छ ।
नेपाल सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराउने वित्तिय समानिकरण चार पटक निकासा गरिने व्यवस्था छ । प्रत्येक तीन तीन महिनामा निकासा गरिने व्यवस्था भए पनि दार्चुलाका स्थानीय तहमा निर्धारित समयतालिका अनुसार निकासा हुन सकेको छैन । स्थानीय तहरुबाट निकासा माग र आवश्यक प्रतिवेदन पेश नगरिदा निकासामा ढिलाइ हुने गरेको कोलेनिकाका निमित्त प्रमुख इन्द्रसिह धामीले बताउनुभयो ।
कोलेनिकाले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) कार्यान्वयन गराएर मात्रै मंसिर र पुष महिनामा स्थानीय तहहरुमा दोस्रो किस्ता निकासा गरेको थियो । ‘केन्द्रदेखि सुत्र कार्यान्वयन गराउनका लागि निर्देशन प्राप्त भएकाले सबै स्थानीय तहहरुमा कार्यान्वयन गराइएको’ उहाँले बताउनुभयो ।
नौगाड, दुहुँ, व्यास र अपिहिमाल गाउँपालिकाले मंसिर ८ गते दोस्रो किस्ता निकासा पाएका थिए । महाकाली नगरपालिकामा पुष २७ गते वित्तिय समानिकरण र सशर्त अनुदानको दोस्रो किस्ता दिइएको थियो । मार्मा र मालिकार्जुन गाउँपालिकामा पुषमा दोस्रो किस्ता दिइएको थियो । शैल्यशिखरमा मंसिरमा दोस्रो किस्ता दिइएको र तेस्रो किस्ताको माग नभएको कोलेनिका दार्चुलाले जनाएको छ । लेकम गाउँपालिकाले सबैभन्दा ढिलो माघ २ गते मात्रै दोस्रो किस्ता निकासा लगेको छ ।
स्थानीय तहलाई वित्तिय समानिकरण अनुदानको पहिलो किस्ता साउनमा, दोस्रो किस्ता कार्तिकमा, तेस्रो किस्ता माघमा र चौथो किस्ता वैशाखमा निकासा गर्ने व्यवस्था छ । सशर्त अनुदान भने तिन पटक निकासा दिइन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !