पाँच वर्षमा नागरिकता लिनेको संख्या तेब्बर

0
2566

दार्चुला, भदौ १३ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट पाँच वर्षको अवधिमा नेपाली नागरिकता प्राप्त गर्नेको संख्या तेब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७०÷७१ मा १ हजार १ सय ६७ जनाले नागरिकता बनाएकोमा गत आर्थिक वर्ष २०७४÷७५ मा नागरिकता लिनेको संख्या ३ हजार ३ सय ९४ रहेको छ ।
आर्थिक वर्ष २०७०÷७१ देखि गतवर्षसम्मको अवधिमा हरेक वर्ष नेपाली नागरिकता लिनेको संख्या वृद्धि भएको तथ्यांक छ । आर्थिक वर्ष २०७१÷७२ मा नागरिकता प्राप्त गर्नेको संख्या २ हजार १ सय ८० छ । आर्थिक वर्ष २०७२÷७३ मा २ हजार ६ सय ७ जना र आर्थिक वर्ष २०७३÷७४ मा २ हजार ८ सय ९६ जनाले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्राविधिक शिक्षा अध्ययन र सरकारी निकायबाट सेवासुविधा प्राप्त गर्नका लागि नागरिकता चाहिने भएकाले संख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो । अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृति र अन्य सुविधा प्राप्त गर्न समेत नेपाली नागरिकता आवश्यक पर्ने भएकाले नागरिकता लिनेको संख्या बढेको उहाँको बुझाइ छ ।
सामाजिक सुरक्षा कार्यक्रमले पनि नागरिकता लिनेको संख्या बढेको छ । पछिल्लो समय स्थानीय सरकारहरुले सामाजिक सुरक्षा भत्ता पाउने सबै नागरिकको नागरिकता सहितको विवरण मागेपछि धेरै जेष्ठ नागरिकले नागरिकता बनाएको नायव सुब्बा सतिष साहले बताउनुभयो ।
पाँच वर्षमा नाागरिकता लिनेको संख्या तेब्बर भएको छ । नागरिकता लिनेमा महिलाभन्दा पुरुषको संख्या बढी छ । कुनै निकायमा नागरिकता पेश गर्नुपर्ने आवश्यक भएमा मात्र महिलाहरुले नागरिकता बनाउने गर्दछन् । अन्य बेला प्रयोगमा नआउने भएकाले पुरुषको तुलनामा थोरै महिलाले नागरिकता बनाउने गरेको प्रशासनका कर्मचारी बताउँछन् ।
नागरिकता प्राप्त गर्नेमध्ये अधिकांशले वंशजका आधारमा नागरिकता पाएका छन् । भारतीय महिलासंग विवाह गरेपछि ती महिलाले वैवाहिक अंगिकृत नागरिकता बनाउनुपर्ने प्रावधान छ । वैवाहिक अंगिकृत बनाउनेको संख्यामा पाँच वर्षमा हाराहारी नै छ ।
आर्थिक वर्ष २०७०÷७१ मा ९ जनाले वैवाहिक अंगिकृत नागरिकता पाएका छन् । आर्थिक वर्ष २०७१÷७२ मा २५ जना, २०७२÷७३ मा २१ जना र २०७३÷७४ मा २२ जनाले वैवाहिक अंगिकृत नागरिकता पाएका छन् । गत आर्थिक वर्ष २०७४÷७५ मा २४ जनाले वैवाहिक अंगिकृत नागरिकता पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिलिपि लिनेको संख्या घट्दै
नेपाली नागरिकता प्राप्त गर्नेको संख्या पाँच वर्षमा तेब्बर भए पनि नागरिकताको प्रतिलिपि लिनेको संख्या घटेको छ । अघिल्लो वर्षको भन्दा गत आर्थिक वर्षमा नागरिकताको प्रतिलिपिको संख्या करिब ४ सयले कम छन् ।
जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार नेपाली नागरिकताको प्रतिलिपि लिनेको संख्या भने घटेको छ । आर्थिक वर्ष २०७३÷७४ मा १ हजार ६ सय ३९ जनाले प्रतिलिपि बनाएकोमा गत आर्थिक वर्ष २०७४÷७५ मा १ हजार २ सय ४८ जनाले प्रतिलिपि लिएका छन् ।
दार्चुलाभरी एक लाख नागरिकता
जिल्ला प्रशासन कार्यालयले दार्चुला जिल्लाभरी १ लाखभन्दा बढी नागरिकता वितरण गरिसकेको छ । २०७५ वैशाख महिनासम्मको अभिलेखअनुसार दार्चुलाभरी वंशजका आधारमा १ लाख १ हजार ९० नागरिकता वितरण भएका छन् ।
वैवाहिक अंगिकृतका आधारमा हालसम्म ६ सय ९० नागरिकता वितरण गरिएका छन् भने जन्मसिद्धका आधारमा ३५ नागरिकता दिइएका छन् । अंगिकृत नागरिकता ७ सय ९ जनालाई दिइएको छ ।