पहिरो पिडितलाई सहयोग हस्तान्तरण

0
832

दार्चुला, भाद्र १ गते । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ चुक्याडीका पहिरो पिडितहरुका लागि संकलन गरिएको रकम आज हस्तान्तरण गरिएको छ ।
घरपूर्ण क्षति भएका, घरमा कुनै रोजगार नभएका, घर क्षति भएको तर घरमा रोजगार भएको तथा घर जोखिममा रहेका परिवारलाई २ लाख रुपैयाँ हस्तान्तरण गरिएको स्थानीय रामसिह डोबालले जानकारी दिनुभएको छ ।
हालसम्म देशविदेशबाट २ लाख १४ हजार १ सय ३३ रुपैयाँ संकलन भएको र सोमध्ये २ लाख रुपैयाँ हस्तान्तरण गरिएको राहत संकलन अभियानकर्ता समेत रहेका डोबालले बताएका छन् ।
घर पूर्ण रुपमा क्षति भएको घरमा कसैको रोजगारी नभएका दुई परिवार (मनि भूल र परे भूल) लाई प्रति परिवार ५० हजार, घर पूर्ण रुपमा क्षति भएको तर घरमा रोजगार भएका कालो भूल र ललितराम पार्कीको परिवारलाई प्रति परिवार ३६ हजार रुपैयाँ सहयोग गरिएको छ ।
घर आंशिक रुपमा क्षति भएका तर घरमा रोजगार नभएका रुपसिह पार्कीलाई २० हजार र बुढी आमासहित दुई जनाको मात्रै परिवार रहेको पहिरोका कारण घर जोखिममा परेको अमरा पार्कीलाई ८ हजार गरी भदौ १ गते पिडित परिवारहरुलाई २ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
विभिन्न ठाउँबाट अझै सहयोग गर्ने कुरा आएकोले अहिलेसम्म संकलन भएको रकममध्ये १४ हजार १ सय ३३ रुपैयाँ खाता मै राखेर खाता सञ्चालनमा राखिएको स्थानीय मोहनसिह साहूले जानकारी दिएका छन् ।
साउन १७ गते घरमाथिबाट आएको पहिरो आएर ५ घर बगाएको थियो भने एक दर्जन स्थानीयको जग्गामा क्षति पुगेको स्थानीय उदयसिह बोहरा बताउँछन् ।

स्थानीय अझै विद्यालयमा

पहिरोले घरखेत बगाएपछि आश्रयविहीन बनेका स्थानीय अहिले स्थानीय दुर्गालटिनाथ आधारभूत विद्यालयमा बस्दै आएका छन् ।
नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले उपलब्ध गराएको कपडा र टेन्टहरु लिएर उनी विद्यालयमा बस्दै आएको स्थानीय प्रेमसिह साहू बताउँछन् ।
‘बनाएको घर पहिरोले लग्यो, अहिल्यै घर बनाउन रकम पनि छैन । खाना कै समस्या छ । त्यसैले विद्यालयमै आश्रय लिएका छौं ।’ परेको पिडित परे भूलले भने ।

नगरपालिकाको सहयोग घोषणाः अन्यको सहयोग

महाकाली नगरपालिकाले पिडित परिवारलाई एक एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ भने नेकपा वडा कमिटि र प्रधानमन्त्रीका स्वीकय सचिवले राहत उपलब्ध गराएको नेकपा वडा कमिटि अध्यक्ष बिरसिह डोबाल बताउँछन् ।
नगरपालिका र हामीले खाद्यान्न पनि उपलब्ध गराएका थियौं । प्रधानमन्त्रीका स्वकीय सचिव हरदेब जोशीले कपडा उपलब्ध गराएका हुन् । वडा अध्यक्ष डोबालले भने ।
‘वडा कमिटिको राहत संकलन गर्ने काम जारी रहेकोले पिडितहरुका लागि अस्थायी आवास समेत निर्माण गर्ने योजना आफूहरुको रहेको उनी बताउँछन् । हामीसँग केही रकम छ, थप सहयोग संकलन गरेर उनीहरुलाई पुनस्र्थापित गर्ने योजनामा लागेका छौं ।’ उनले भने
‘नगरपालिकाले सहयोगको घोषणा गरिसकेको र वडाका तर्फबाट के कति सहयोग गर्न सकिन्छ भन्ने वारेमा समेत छलफल भएकाले नगरपालिका र वडाका तर्फबाट पनि पिडितहरुलाई छिट्टै सहयोग गर्नेछौं ।’ वडा अध्यक्ष गौरसिह साहूले भने ।