पस्ती स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन

0
765

दार्चुला, बैशाख ७ गते ।
मालिकार्जुन गाउँपालिकाको केन्द्रमा रहेको पस्ती स्वास्थ्य चौकीमा एक्सरे मेसिन र इसीजी सेवा सञ्चालनमा ल्याइएको छ । आज एक कार्यक्रमका विच मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले एक्सरे सेवाको उद्धघाटन गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष धामीको अध्यक्षतामा गरिएको उद्धघाटन कार्यक्रममा वडा नं २ का वडाध्यक्ष गणेस सिह धामी, निमित्त प्रमुख प्रशासकिय अधिकृत नर सिह सामन्त, स्वास्थ्य शाखा प्रमुख गुण राज ओझा लगायत अतिथि रहेका थिए । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष गणेष सिह धामीको छातीको एक्सरे गरि एक्सरे सेवाको शुभारम्भ गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर मालिकार्जुन गाउँपालिकाले चालु आर्थिक बर्षमा १ करोड २० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो । गाउँपालिका स्वाथ्य क्षेत्रको उक्त बजेट महिला स्वास्थ्य स्वयं सेविकाहरुको प्रोत्साहन भत्ता, दुई वटा एम्बुलेन्स खरिद, आवस्यक स्वास्थ्य उपकरण खरिद तथा औषधी खरिद लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको अध्यक्ष धामीको भनाई छ ।
एक्सरे सेवाको उद्धघाटन कार्यक्रममा विभिन्न स्वास्थय संस्थाका कर्मचारी तथा स्थानियहरुको समेत सहभागिता रहेको थियो । ग्रामीण क्षेत्रमा गाउँपालिकाले एक्सरे सेवा सञ्चालनमा ल्याएपछि एक्सरेका लागि मालिकार्जुन गाउँपालिकाका नागरिकहरुलाई जिल्ला अस्पताल आउनुपर्ने बाध्यता हटेको छ ।

दार्चुलाका ४ स्वास्थ्य संस्थामा मात्रै एक्सरे सेवा सञ्चालनमा

दार्चुलामा चारवटा स्थानिय तहहरुमा मात्रै एक्सरे सेवा सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । महाकाली नगरपालिकामा रहेको जिल्ला अस्पताल, शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पताल, मार्मा गाउँपालिकामा रहेको लटिनाथ स्वास्थ्य चौकी र मालिकार्जुन गाउँपालिमा रहेको पस्ती स्वास्थ्य चौकीमा मात्रै एक्सरे सेवा रहेको छ । विगतमा दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मात्रै एक्सरे सेवा रहेको भएपनि स्थानिय तह आएपछि ग्रामिण क्षेत्रहरुमा समेत एक्सरे सेवा सञ्चालनमा आउन थालेको छ ।
आज मालिकार्जुन गाउँपालिकाले एक्सरे सेवा सञ्चालनमा ल्याए सगै दार्चुलामा एक्सरे सेवा सञ्चालनमा ल्याउने मालिकार्जुन दोस्रो गाउँपालिका बनेको छ । मार्मा गाउँपालिकामा एमविविएस डाक्टरबाट सेवा प्रवाह भइरहेकाले एक्सरे सेवा सञ्चालनमा ल्याएको मार्मा गाउँपालिका स्वास्थ्य संयोजक चक्र सिह धामीको भनाई छ । मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा रहेको एक्सरे सेवाबाट अपिहिमाल गाउँपालिका क्षेत्रका नागरिकहरुले समेत लाभ लिइरहेको उहाँले जानकारी दिनुभयो ।