पलायन रोक्न राज्य सरकार क्रियासिल छ ः मुख्यमन्त्री

0
3116

दार्चुला, मंसिर २२ गते ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले उत्तराखण्ड राज्यको प्रमुख समस्या पलायन रहेको बताएका छन् । १६ हजार गाँउ र वस्ती रहेको उत्तराखण्डमा पलायन प्रमुख समस्याको रुपमा देखिएको छ ।
आफुले सरकारको नेतृत्व गरेलगत्तै पलायन तथा ग्रामिण विकास आयोग गठन गरी कार्य अघि बढाइएको मुख्यमन्त्रीको भनाई छ । राज्यभरका १६ हजार गाँउको सर्भेक्षण गरी तथ्यांक संकलन र विश्लेषण गरिएको उहाँको भनाई छ । आयोगले शुक्रवार मात्रै पौडी गढवाल जिल्लाको अवस्था सार्वजनिक गरेको छ । उत्तराखण्डका १३ जिल्लामध्ये पौडीमा सबैभन्दा बढी पलायनको समस्या रहेको तथ्यांक छ । पौडीपछि अल्मोडा जिल्लामा धेरै जनसंख्या पलायन भएको छ ।
शिक्षा, स्वास्थ्य र रोजगार पलायनका प्रमुख तीन कारण रहेको मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतको भनाई छ । राज्यको दुर्गम र टाढाका क्षेत्र यी तिनवटै सेवा र अवसर विस्तार गर्न राज्य सरकारले काम थालनी गरेको उहाँले बताउनुभयो । स्थानीय स्रोतसाधनमा आधारित उद्यम, कृषि उत्पादनलाई प्राथमिकता दिइएको र महिलालाई बढी प्राथमिकता दिइएको मुख्यमन्त्रीको भनाई छ ।
सल्लोको पिरोलबाट विद्युत उत्पादन समेत सुरु गरिएको छ । राज्य सरकारले २ रुपैयाँ प्रतिकिलोमा सल्लोको पिरोल खरिद गरिरहेको मुख्यमन्त्रीले बताउनुभयो । उत्तराखण्ड भरीमा ६ सय ७० वटा ग्रोथ सेन्टर स्थापना गरी स्थानीय आवश्यकतामा आधारित रोजगारलाई प्रवद्र्धन गर्न खोजिएको उहाँले बताउनुभयो । सन् २०२० सम्ममा राज्यभरी ५ हजार होमस्टे सञ्चालन गर्ने राज्य सरकारको योजना रहेको रावतको भनाई छ ।
उत्तराखण्ड सरकारले १०८ को स्वास्थ्य सेवाका लागि १ सय ३९ नयाँ गाडी खरिद गर्न लागेको मुख्यमन्त्रीले जानकारी दिएका छन् । राज्यभरका प्रत्येक ब्लकस्तरमा एउटा गाडी उपलब्ध गराइने उहाँले बताउनुभयो । धारचुला तहसिलअन्तर्गतको गुञ्जीमा सामुदायिक स्वास्थ्य केन्द्र (पिएचसी) स्थापना गरिने मुख्यमन्त्रीले घोषणा गर्नुभयो ।
धारचुलामा दुइटा खाद्यान्न गोदाम राखिने घोषणा पनि मुख्यमन्त्रीले गर्नुभएको छ । दारमा, चौदास र व्यास क्षेत्रको स्थानीय कृषि उत्पादनलाई राज्य सरकारले खरिद गरी कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने मुख्यमन्त्रीको भनाई छ ।
रं महोत्सव सञ्चालन भएको धारचुलास्थित महाकाली नदी किनारको मिनीस्टेडियमको नामांकरण स्वर्गिय जौहारसिह नवियालको नामबाट गरिने मुख्यमन्त्रीले घोषणा गर्नुभएको छ ।