पन्ध्र वर्षमा बनेन एकसय किलोमिटर सडक ।

2598

भारतले तावाघाटदेखि लिपुलेकसम्मको सडक निर्माण सुरु गरेको १५ वर्ष पूरा भएको छ । महाकाली नदी किनारैकिनार निर्माण गरिन लागेको सडक भारत सरकारका लागि चुनौती देखिएको छ । चीनको सीमासम्म जोडिने यस सडकलाई भारतले उच्च प्राथमिकता दिएको छ । तर १५ वर्ष लगाएर एक सय किलोमिटर सडक बनाउन नसकेकोमा सरोकारवालाले प्रश्न उठाएका छन् ।
भारतको सीमा सडक संगठन ग्रिफले सडक निर्माणको जिम्मेवारी पाएको छ । ग्रिफ भारतीय सेनाको सडक निर्माण कम्पनी हो । नीजि कम्पनीका ठेकेदारमार्फत समेत सडक निर्माणको काम भइरहेको छ । तवाघाटदेखि करिब २० किलोमिटर अगाडि लखनपुरसम्म सडक निर्माण गरिएको छ । यस खण्डमा अहिले गाडी सञ्चालन भइरहेका छन् ।
लखनपुरदेखि बुँदीसम्मको सडक निर्माण चुनौतीपूर्ण देखिएको छ । कडा चट्टानी भूबनोट र महाकाली नदी किनारको क्षेत्र भएकाले सडक निर्माणमा समस्या देखिएको छ । चीनको ताक्लाकोट तथा उच्च हिमाली क्षेत्रमा जाने मुख्य बाटो पनि यही क्षेत्रमा रहेकाले सडक निर्माण कार्य प्रभावित बन्दैेआएको छ ।
लखनपुरदेखि बँुदीसम्मको १६ किलोमिटर लामो क्षेत्रमा कडा चट्टान र अप्ठेरो भूबनोट छ । अहिले आधा दर्जनभन्दा बढी स्थानमा अत्याधुनिक मेसिन लगाएर सडक निर्माण भइरहेको छ । कडा चट्टानी भूबनोट भएकाले दैनिक रुपमा ठूलो मात्रामा विस्फोटक पदार्थको प्रयोग पनि भइरहेको दुम्लिङ कल्चुका स्थानीय खडकसिह धामीले बताउनुभयो ।
बुँदीदेखि माथि छियालेक–गव्र्याङ सम्मको सडक भने निर्माण भएको छ । गव्र्याङदेखि गुञ्जी हुँदै कालापानीसम्म पनि सडक निर्माण भएको छ । सडकको ट्रयाक खोलिएपछि यसक्षेत्रमा अहिले भारतीय सेनाका गाडी चलिरहेका छन् । सर्वसाधारणलाई भने यसक्षेत्रमा गाडीको सुविधा छैन । हेलिकोप्टरमार्फत सडक निर्माणको मेसिन र गाडी गुञ्जी क्षेत्रमा ढुवानी गरिएका थिए ।
करिब एक सय किलोमिटरमध्ये अब १६ किलोमिटर सडक निर्माण हुन बाँकी छ । आगामी दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य भारत सरकारले राखेको छ । सडक निर्माणपछि छोटा कैलाश यात्रा र कैलाश मानसरोवर यात्राका साथै चीनसंगको व्यापार सहज हुने भारत सरकारको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !