पदाधिकारीमा पराजित नेता केन्द्रीय सदस्यमा मनोनित

508
फाइल फोटो

दार्चुला, पुष १९ गते ।
नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले चौधौं महाधिवेशनमा पदाधिकारीमा पराजित सबैजसो नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । काग्रेसको विधानअनुसार सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने व्यवस्था छ ।



सभापति देउवाले पुष १७ मा १० जना र पुष १८ मा ३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । मनोनित १३ जनामध्ये ८ जना पदाधिकारीमा पराजित नेता छन् । चौधौं महाधिवेशनको चुनावी प्रतिस्पर्धामा भाग नलिएका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, उमा रेग्मी र मीनवहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
नेतृत्व चयनको प्रतिस्पर्धाअन्तर्गत सभापतिमा पराजित विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । यसैगरी, उपसभापतिमा पराजित विजयकुमार गच्छदार र सुजाता कोइराला तथा महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई पनि देउवाले केन्द्रीय सदस्य बनाएका छन् । सहमहामन्त्रीमा पराजित कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनवहादुर शाहीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !