पत्रकारहरुसंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया

0
400

दार्चुला, माघ ६ गते ।
स्वास्थ्य कार्यालय दार्चुलाले विहीबार दार्चुलामा क्रियाशील पत्रकारहरु संग स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दार्चुलाले गत आर्थिक वर्षमा गरेको कार्यप्रगति तथा समसामयिक स्वास्थ्य चुनौतीका विषयमा छलफल गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीहरू संगै सञ्चार क्षेत्रको समेत भूमिका रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ ।


दार्चुलामा स्वास्थ्य समस्याको प्रमुख चुनौतीको रुपमा आत्महत्या र घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु हुने रहेको उहाँको भनाई छ । दार्चुलामा कोरोनाको पहिलो र दोस्रो लहरका बेला जिल्लामा १४ जनाको मात्रै मृत्यु भएकोमा आत्महत्या र घाँसकाट्दा भिरबाट लडेर मृत्यु हुनेको संख्या दार्चुलामा वार्षिक ३० जना सम्म पुग्ने गरेको छ । कोरोना भन्दा दार्चुलामा आत्महत्या र भिरबाट लडेर मृत्यु हुने बढी रहेकाले यसमा सबैले सचेत हुनुपर्ने उहाँको भनाई छ ।

दार्चुलामा मानसिक स्वास्थ्य सम्बन्धी तालिम लिएका २३ जना स्वास्थ्यकर्मीहरु छन् । जिल्लाको जनसंख्याको अनुपातमा १ सय १३ जनाले यस्तो तालिम लिएको हुनुपर्नेमा थोरै मात्र मानसिक स्वास्थ्य सम्बन्धि तालिम लिएका स्वास्थ्यकर्मी भएकाले मानसिक स्वास्थ्य सम्बन्धी अभियान सञ्चालन गर्न समेत समस्या भइरहेको छ ।

आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रम गरिनुपर्ने भट्टको भनाई छ । त्यसैगरि दार्चुलाका ग्रामीण भेगहरुमा महिलाहरू घाँस काट्नेबेला भिरबाट लडेर घाइते वा मृत्युको सिकार हुने गरेका छन् । भिराले क्षेत्रमा जनचेतना मुलक बोर्डहरू वा मिडियाबाट सन्देश प्रसार गर्न सकेमा मात्रै पनि केही यसमा न्यूनिकरण आउने उहाँको अपेक्षा छ ।

सञ्चारकर्मीहरु संगको अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले अहिलको कोरोनाको ओमिक्रोन भेरियन्ट छिटो सर्ने प्रकृतीको रहेकाले यसबाट कोही पनि अछुतो रहन सक्ने स्थिती नभएको बताउनुभयो ।

‘ओमिक्रोन एक जनाबाट दश जनामा सर्ने गर्दछ, त्यसैले दार्चुलामा कुल जनसंख्याको ९० प्रतिशत यसबाट संक्रमित हुन सक्छन्’ उहाँले भन्नुभयो । ‘कोरोनाबाट बच्नका लागि अहिलेको प्रभावकारी कदम खोप हो । खोप नलगाएका ब्यक्तिलाई कोरोना मृत्युका लागि पर्खिरहेको छ, त्यसैले सबैले कोरोनाको खाप लगाउनमा ध्यान दिउँ’ उहाँले भन्नुभयो ।

कोरोनाको खोप लगाएको ६ महिना पुरा भएकाहरुका लागि केही दिनमै बुस्टर डोज अभियान सञ्चालन गरिने छ । बुस्टर डोज गत बर्षको प्राथमिकता अनुसार लगाइने भट्टको भनाई छ ।

खोप नलगाएकाहरुले स्वास्थ्य संस्थाहरुमा सम्पर्क गरेर खोप लगाउन र एउटै डोज लगाएकाहरुले दुबै डोज लगाउन स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले सबैमा अनुरोध गर्नुभएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको अध्यक्षतामा गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष कृष्ण सिह धामी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सचिव प्रेम चुनारा, दार्चुला शाखाका निवर्तमान अध्यक्ष शंकरसिह धामी लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।