न पहिरो रोकियो न आँसु (फोटो फिचर )

0
704

दार्चुला, भाद्र २० गते ।
पहिरो गएको सात दिनभयो । यो बीचमा जनप्रतिनिधिहरु मात्रै नभएर जिल्लाका सबै सुरक्षा निकाय सहित प्रमुख जिल्ला अधिकारीको समेत भ्रमण भयो ।

नेपाली सेना सहित सुरक्षाकर्मी र स्थानीय युवाहरुले खोलाहरुमा पुल राखेर वल्लो गाउँपल्लो गाउँ जान सम्म बाटो बनाए तर दुुहू वडा नम्बर २ का दुई बस्ति र वडा नम्बर ५ को एक बस्तिको पहिरो रोकिएको छैन । खोलाले तल तिरबाट कटान गरेकाले दुहुँ गाउँपालिका वडा नम्बर २ को नरोली बस्ति निरन्तर धसिदै छ भने लस्या गुनाको जमिन पनि धसिने क्रमजारी छ । यी बस्ति मात्रै नभएर दुहुँ गाउँपालिकाको वडा नम्बर ५ मा रहेको सिमार बस्तिलाई पनि तल तिरबाट खोलाले कटान गरेको हुँदा उक्त बस्तिको जमिन पनि निरन्तर धसिँदै छ ।



‘भदौ १३ गते राति ठूलो पानी पर्दै थियो,एक्कासी भुकम्प आए जस्तो गरी जमिन हल्लिन थाल्यो र खोला बढेको आवाज सुनियो । घर परिवारका सदस्य सबै बिउँझिए, घरबाहिर निस्कदा खोला बढेको प्रष्ट आवाज सुनियो, विजुली गयो । वल्लो घर पल्लो घरका सबै बाहिर निस्किए । जम्मिन हल्लिएकै थियो, कहाँजाने के गर्ने अन्यौल भयो । केटाकेटी महिला रुन थाले’ शनिवार जिल्लाको टोलीसँगै घटना स्थलपुगेका रेडक्रसकर्मीलाई स्थानीय शंकरसिह साहू एक सासमा त्यो रातको घटना बताउँदै थिए । शंकरले भनेझैं भदौ १३ गते रातिदेखि रुन थालेका नरोलीका महिलाहरुको आँसु अझै रोकिएको छैन । ‘बस्ति खोलातिर धसिदै गएको छ । खेत, मेलो सबै पहिरो गएको छ । न मानिस बस्न घर छ, न गाई भैसी राख्ने ठाउँ छ । कहाँ जाने ?’ रुँदै ६९ वर्षिय रतना साहूले भनिन् । १४ गते खोला किनारको खेत गयो । घर केही भएको थिएन, १४ गते बेलुका देखि खेत, बाटो हुँदै घरमा समेत दरार परे । १५ गते ती दरारहरु ठूला हुँदै गए, घर पछाडि तिर ढल्किन थाले । १६ गते नरोलीका २१ घरपरिवार मध्ये ४ जनाको घर पछाडिबाट भत्कियो, अन्यमा चिरा पर्न थाले । भत्किने काम निरन्तर छ । ‘रात बस्तिबाट झण्डै दुई किलोटिरभन्दा टाढा रहेको स्कुलामा गएर काट्छौं, दिनमा धसिदै गएको आँगनमा बसेर रुनुको बिकल्प छैन ।’ ४५ वर्षिय उमा साहूले भनिन् ।



रतनाको ११ जनाको परिवार छ । अहिले कोही हिकिलामा आफन्तको घरमा छन्, कोही सदरमुकाममा रहेको छोरीको डेरामा छन् । उनी आफ्नो बासको ठेगान नभएको बताउँछिन् । ‘कहिले स्कुलमा जान्छु कहिले नाति नातिनाको याद आउँछ र बुहारीको माइत घरमा जान्छु, कही मन लाग्दैन ।’ उनले भनिन् । मानिसले त खाना पाएको भएपनि गाईभैंसीको बिचल्ली भएको भएको उनी बताउँछिन् । दुहुँ गाउँपालिका वडा नम्बर ५ सिमारका ५१ वर्षिय परुलीदेवि बडालको पनि यस्तै अवस्था छ । घर खेतको दायाँ बाँयाबाट मात्रै नभएर बिचबाट पनि पहिरो गएको छ । दायाँ तिरको पहिरो र खोलाले घरभन्दा तलतिर रहेको खेल बगाउँदै छ । केटाकेटी र गाईबस्तु माइत पुर्याकि छिन् । आफू छोरीहरुलाई धसिदै गएको खेत हेर्न लगाएर बस्छिन् । ‘कामगर्ने मन लाग्दैन, छिमेकिहरुले सान्त्वना दिएर जान्छन् तर कमाउँदै गरेको खेत खोलामा जाँदैछ । मेरो परिवारलाई यस्तो खेत कहाँ कसले दिने हो ।’ परुलीले आँसु झार्दै नभिनन् ।



‘हिकिलामा थोरै खेत छ, त्यसले एक परिवारलाई पनि पुग्दैन । राम्रो खेत सिमार नै हो त्यो पनि केही दिनपछि खोलामा जाने देखिन्छ । भविष्यको बारेमा केही सोच्न सकेको छैन ।’ भन्छन्, ५८ वर्षिय धनसिह बडाल । सबैभन्दा सुरक्षित देखिएको गाउँमा तिन तिरबाट पहिरो गएर बिचल्लि भएको देख्दा मन थाम्न नसकेर प्रत्येक तेस्रो दिन हिकिलाबाट ५१ वर्षिय दानसिह बडाल सिमार पुग्छन् । ‘पहिरो रोकियो होला भन्ने आशा बोकेर आउँछु तर निरन्तर बग्दै गएको खेत र परिवारजनको आँसुले बोल्न नसक्ने गरि फर्किन्छु ।’ दानसिहले भने ।

सबैतिर पहिरोः पुनस्र्थापनाको आशा

‘वल्लोगाउँ पल्लोगाउँ पहिरो छ रे जाँउभने कहाँ जाने ?बिपत्तिमा परियो’ भन्छिन् ९० वर्षिय जोनेनी देबी बडाल । वडा नम्बर ५ को सिमार मात्रै नभएर नजिकै रहेको सुत्खोलागडा गाउँको बिचौंबिचपहिरो गएको छ । त्यसैगरी सोही वडाको घोप्टे, लिखा, बत्थोली, दुल्ला, गरमोरामा पनि पहिरो आएको छ । सिमार र सुत्खोलागाडा गाउँको झण्डै पाँच किलोमिटर वरपर सम्मका प्रत्येक बस्ति पहिरोबाट प्रभावित छन्, खोलाहरुमा मानिस तर्न सक्ने काठे पुलहरु त बनाइएका छन् तर गाईबस्तु ल्याउन लैजान सकिने अवस्था छैन भन्दै गौरिमाण्डौ मावि हिकिलाका शिक्षक तथा स्थानीय लोकेन्द्र बहादुर बंम भन्छन्,‘तत्काल ज्यान मालको सुरक्षा गर्ने, खाद्यान्नको व्यवस्थागर्ने दीर्घकालीन रुपमा बस्ति पुनस्र्थापनाको योजना कार्यान्वयन गरिनु पर्दछ ।’ पहिरो मात्रै आएका बस्तिहरुमा पुनःबसोबास गर्न सकिएपनि निरन्तर धसिदै गएका गाउँहरुमा बस्ति राख्नु उपयुक्त नहुने उनी बताउँछन् । शनिवार प्रमुख जिल्लाअधिकारी सिद्धराज जोशी सहित सुरक्षा निकाय, पत्रकार र रेडक्रसको टोलीसँग स्थानीयले बस्ति पुनस्र्थापनाको माग राखेको र प्रमुख जिल्ला अधिकारीले जोशीले आफूले माथिल्लो निकायमा स्थानीयको मागहरुलाई राख्ने प्रतिबद्धता गरेको उनी बताउँछन् ।



वडानम्बर ५ का बस्तिहरु मात्रै नभएर वडा नम्बर २ का नरोली सहित लस्या, गुना, अफर्या, राताका सबै बस्तिहरु पनि पहिरोबाट प्रभावित छन् । लस्या बस्ति ठूलो चट्टान माथि रहेकाले तत्काल असर नपरेको भएपनि दायाँ बायाँबाट खोलाले कटान गरेको बताउँदै स्थानीय शिक्षक लोकेन्द्रबहादुर बंम भन्छन्, ‘नरोली, लस्या, राता र गुनाका बस्ति निरन्तर धसिदैछन्, यी बस्तिहरुलाई अन्यत्र सारिनु पर्दछ ।’