‘नौगाड र चमेलियामा तटबन्ध निर्माण गर्न बजेट व्यवस्था हुन्छ’

0
569

नौगाडका बाढी पहिरो पिडितलाई तत्तकाल राहत दिने आश्वासन ।

दार्चुला, साउन ३ गते ।
सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री मानवहादुर धामी सन्तोषले नौगाड र चमेलिया नदी क्षेत्रमा पक्की तटबन्धको संरचना निर्माण गर्न नेपाल सरकारबाट बजेट व्यवस्था गरिने बताएका छन् । आफ्नो पहलमा नौगाड र चमेलिया नदी क्षेत्रमा तटबन्ध निर्माणको विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरिएको उहाँले बताउनुभयो ।
शनिवार मालिकार्जुन गाउँपालिकाको शंकरपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री धामीले दुबै नदी किनारमा तटबन्धको संरचना बनाउन चालु वर्षमै केन्द्र सरकारबाट बजेट उपलब्ध गराइ छाड्ने प्रतिवद्धता गरेका छन् । ‘नौगाड र चमेलिया नदी किनारमा तटबन्ध बनाउन डिपिआर तयार भइसकेको छ, बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा फाइल पुगेको छ’ पत्रकार सम्मेलनमा मन्त्री धामीले भन्नुभयो ।
केन्द्रीय सरकारबाट तत्काल बजेटको सुनिश्चिता गराउन आफुले भूमिका खेल्ने पर्यटन मन्त्री मानवहादुर धामी सन्तोषको भनाई छ । केन्द्रमा गठन भएको नयाँ सरकारमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर अर्थमन्त्री छन् । आफ्नै पार्टीका नेता अर्थमन्त्री भएकोले यसका लागि पहल गरी बजेट सुनिश्चता गराउन पर्यटन मन्त्री धामीलाई दबाव परेको छ । पत्रकार सम्मेलनमा बोल्दै पर्यटन मन्त्री धामीले तटबन्ध निर्माणमा केन्द्रीय सरकारबाट चालु वर्षमा बजेट सुनिश्चितता हुने बताएका छन् । अर्काे प्रसंगमा बोल्दै मन्त्री धामीले वाढीपहिरोबाट प्रभावित परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत दिइने बताएका छन् । नौगाड र मार्मा गाउँपालिकामा वाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणपछि मन्त्री धामीले प्रदेश सरकारबाट तर्फबाट तत्काल राहत उपलब्ध गराउने बताएका हुन् ।
केही दिनअघि पहिरोले नौगाड गाउँपालिकामा ३ जनाको ज्यान गएको थियो भने नौगाड खोला र मार्मा गाउँपालिकाको क्षेत्रमा पहिरो र वाढीले क्षति समेत भएको छ । वाढीपहिरोबाट क्षति व्यहोरेका परिवारलाई तत्काल केही न केही राहत उपलब्ध गराउन आफुले सक्दो प्रयास गर्ने मन्त्री धामीको भनाई छ ।
वाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल खानेपानी सञ्चालनको आवश्यकता आफुले देखेको उहाँले बताउनुभयो । प्रदेश पर्यटन मन्त्री धामी दार्चुला सदरमुकाम खलंगाबाट पैदल हिडेर नौगाड गाउँपालिकाको दल्लेख हुँदै वाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणमा निस्केका थिए ।