नौगाडमा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

0
632

दार्चुला, फागुन १२ गते ।
दार्चुलाको नौगाड गाउँपालिकामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजना तथा प्राविधिक सहयोग र नौगाड गाउँपालिकाको आर्थिक सहयोगमा नौगाड गाउँपालिकामा बुधबार एक दिने शिविर सञ्चालन गरिएको कार्यालय प्रमुख एबं बरिष्ठ कविराज निरीक्षक लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा नौगाड गाउँपालिकाका उपाध्यक्ष गौरी देबि ठगुन्ना प्रमुख अतिथि रहनुभएको छ । निःशुल्क स्वास्थ्य शिविरमा ७५ जना पुरुष र ६३ जना महिला गरि १ सय ४० जनाले आयुर्वेद सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जोशीको भनाई छ । सेवा लिनेहरु मध्ये लम्लपित्त, बाथरोग, श्वास प्रश्वास समस्याका विरामी तथा जेष्ठ नागरिक बढी रहेको उहाँको भनाई छ । शिविरमा दुई जना आर्युबेद डाक्टरहरुले समेत सेवा प्रदान गरेका थिए । डडेलधुराका डा. सत्यराज जोशी र डोटीका डा. कविन्द्र उपाध्यायले आयुर्वेद सेवा दिएको जोशीले जानकारी दिनुभयो ।

यसपछि ब्यासमा शिवर सञ्चाल गरिदै

नौगाड गाउँपालिका पछि ब्यास गाउँपालिकामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका प्रमुख लोकेन्द्र प्रसाद जोशीको भनाई छ । हाल सम्म ब्यास गाउँपालिका बाहेक दार्चुलाका ८ वटा स्थानियतहहरुमा आरोग्य सेवा केन्द्र रहेको उहाँले जानकारी दिनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलामा ब्यासका विरामीहरु बढी आउने भएकाले ब्यासमा समेत शिविर सञ्चालन गरिने उहाँको भनाई छ । चालु आर्थिक बर्षमा आरोग्य स्वास्थ्य केन्द्र नभएको दार्चुलाको नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र लेकम गाउँपालिकामा आरोग्य सेवा केन्द्रको स्थापना गरिएको भएपनि ब्यास गाउँपालिका आरोग्य सेवा केन्द्र सञ्चालन गर्न नसकिएको जोशीको भनाई छ । ब्यासमा पनि आरोग्य सेवा केन्द्रको स्थापनाका लागि ब्यास गाउँपालिकाले पहल गरिरहेकाले आउदो आर्थिक बर्षमा ब्यासमा पनि स्थापना हुन सक्ने उहाँको भनाई छ । ब्यास गाउँपालिकाको आर्थिक सहयोगमा ब्यास गाउँपालिकामा हुने आर्युबेद शिविर आउदो सोमबार सम्म सञ्चालन गरिने उहाँको भनाइ छ । निःशुल्क आर्युबेद शिविर ब्यास गाउँपालिकाका ६ वटै वडाहरुमा सञ्चालन गरिने छ ।