नेपाल भारत जोड्ने पुल खोल्न धार्चुलाका ब्यापारीहरुको माग

0
1086
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, साउन २२ गते ।
भारतको धार्चुलाका ब्यापारीहरुले नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल नियमित रुपमा खोल्न माग गरेका छन् ।
भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिललाई बुधबार ज्ञापन पत्र दिदै नेपाल भारत जोड्ने पुल नियमित रुपमा खोल्न माग गरेका हुन् ।
भारतको धार्चुला बजारका ग्राहकहरु नेपाली भएकाले कोरोना प्रभावले सिमा सिल हुदाँ धार्चुलाको ब्यापार निकै ओरालो लागेको छ ।
नेपालीहरुको सामान किनमेल गर्न भिडभाड हुने धार्चुला बजार हाल ग्राहक नहुदा कयौ पसलहरु बन्द रहेका छन् ।
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल बन्द हुदाँ आफुहरुको ब्यापार न्युन हुन थालेपछि भारतीय ब्यापारीहरुले पुल नियमित खोल्न माग गरेका छन् ।
धार्चुलाका ब्यापारीहरुले घुमाउरो भाषामा नेपाल भारत जोड्ने पुल खोल्न माग गरेका छन् ।
गत साउन १९ गते रक्षा बन्धनका दिन नेपाल भारत जोड्ने पुल खोल्न भन्दै भारत तर्फ नागरिकहरुको भिड लागेको थियो । नेपाली प्रशासनले पुल बेलुका खोलेपछि भारतीय ब्यापारीहरुले नेपाल भारत जोड्ने पुल खोलेमा नियमित खोल्नुपर्ने नत्र पुर्ण रुपमा पुल सिल गर्नुपर्ने भन्दै धार्चुला तहशिलमा ज्ञापन पत्र बुझाएका छन् ।
धार्चुलाका उपजिल्ला अधिकारी अनिल कुमार शुक्लाले पत्र संख्या ७ सय ७० मा पिथौरागढ जिल्ला अधिकारीलाई पत्र लेख्दै पुल खोल्ने वा पुर्ण सिल गर्ने विषयमा दिशा निर्देश गर्न अनुरोध गरेका छन् ।
रक्षा बन्धनमा प्रयोग हुने धागोहरु समेत ठूलो परिणाममा विगतमा भारतीय बजार बाटै आयात हुने गरेको थियो । रक्षा बन्धनको दिन पुल लामो समय खुलेमा राम्रै ब्यापार हुने आसमा रहेका भारतीय ब्यापारीहरु पुल नखोलीदा आक्रोसित बनेका छन् ।
नेपाल सरकारको गृह मन्त्रालयले साउन २१ गते कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकोले अन्र्तराष्ट्रिय सिमा नाकामा हुने आवत जावतलाई कडाईका साथ निषेध गर्न निर्देशन जारी गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढिरहेकाले बेलुकी ९ बजे देखि विहान ५ बजेको समयमा आवागमनलाई समेत बन्द गर्न निर्देशन जारी गरेको छ ।