नेपाल भारत जोड्ने पुलहरुको निर्माण कार्य तत्काल सुरु गराउन काङग्रेस ब्यासको माग

0
524

दार्चुला, असोज १३ गते ।
दार्चुलाको ब्यास गाउँपालिकामा निर्माण भइरहेका नेपाल भारत जोड्ने सीमापुलहरुको काम तत्काल सुरु गराउन काङग्रेस ब्यासले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।

निर्माण कार्य पुरा हुन नसकेका महाकाली नदी माथीका सीमापुलहरु तत्काल निमाणकार्य सुरु गराउन नेपाली काङग्रेस ब्यासका सभापति नरेन्द्र दत्त भट्टले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र दिएका छन् ।
नेपाल सरकारको तुईन विस्तापन कार्यक्रम अन्र्तगत २०७६ सालमा उद्धाटन गरिएका ब्यास गाउँपालिकाको ४ मलघट्टे र वडा नं २ माल जोड्ने महाकाली नदीमाथीका सीमापुलहरु हाल सम्म निर्माण हुन सकेका छैनन् । बर्षादले ब्यास जोड्ने नेपाल तर्फको बाटो अवरुद्ध भएको अवस्था तथा भारतबाट जान समयमै पुल निर्माण नहुदाँ महाकाली नदीमाथी जोखिमपुर्ण तुईन तर्नुपर्ने अवस्था रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
समयमै पुल निर्माण हुन नसक्दा वडा नं २,३ र ४ का स्थानियहरु महाकाली नदीमाथी तुईनको जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको नेपाली काङग्रेस ब्यासका सभापति नरेन्द्र दत्त भट्टले भन्नुभयो ।
‘माल र मलघट्टेमा पुल निर्माणको जिम्मेवारी पाएको खम्पाचे रुविना जेभिले समयमै पुल निर्माण गर्न नसक्दा ब्यास २ का जयसिह धामीले अकालमै ज्यान गुमाउनु पर्यो’ ज्ञापन पत्रमा भनिएको छ ।
गत साउन २८ गते सस्पेन्सन बृज डिभिजनले पुल निर्माणको जिम्मेवारी पाएको खम्पाचे रुविना जेभिका प्रतिनिधीलाई बोलाएर २०७८ पुस मसान्त सम्म पुल निर्माणको काम सम्पन्न गरिसक्न निर्देशन दिएपनि हाल सम्म पुल निर्माणको काम सुरु भएको छैन । हाल सम्म पुल निर्माणको काम सुरु नहुदाँ पुस महिना सम्म पुल बनिसक्ने सम्भावना नहुने भएकाले जिम्मा पाएको कम्पनीलाई तत्काल काम सम्पन्न गर्न निर्देशन दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरिएको छ । ब्यासबासि जनताको पुलबाट आवत जावत गर्ने चाहाना पुरा गरिदिन नेपाली काङग्रेस ब्यासका सभापति नरेन्द्र दत्त भट्टद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।