नेपाल भारत जोड्ने तीनवटा पुलहरु खुल्ने

641
फाईल फोटोः जोलजिवि

दार्चुला, साउन ३ गते ।
कोरोना प्रभावले लामो समय देखि बन्द रहेका दार्चुलाका नेपाल भारत जोड्ने तीन वटा सीमा पुलहरु खोलिन लागेका छन् ।

ब्यास गाउँपालिकाको तिग्रम, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजिविमा रहेका नेपाल भारत जोड्ने पुलहरु खुला गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सीमा पुल बन्द भएकाले मालिकार्जुन गाउँपालिकामा रहेका १ सय २० जना भारतीय पेन्सनरहरुलाई पेन्सलन लिन समस्या भएकाले पुल खोल्न भन्दै मालिकार्जुन गाउँपालिकाले असार ३० गते जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको थियो । सीमा पुलबाट आवत जावत गर्नेहरुको अनिवार्य स्वास्थ्य परिक्षण गर्ने र पुल खोल्न सहजिकरण गरिदिन प्रशासनलाई पत्राचार गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनुभयो । गाउँपालिकाको अनुरोधमा सीमा पुल खुला गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला दार्चुलाले प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गरेको थियो । जोलजिवि पुलमा आवस्यक काम परेका नागरिकहरुका लागि प्रहरीको समन्वयमा हाल आवत जावत भइरहेकोमा भोलीबाट औपचारीक रुपमा आम नागरिकहरुका लागि पुल खुला गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दको भनाई छ । ब्यास गाउँपालिकाले पनि तिग्रम पुल खुला गर्न प्रशासनलाई अनुरोध गरेको थियो । स्वास्थ्य मापदण्ड अपनाएर पुलहरु खुला गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुमति दिएकाले भोलीबाट तीन सीमापुलहरु नियमित रुपमा खुला गरिने प्रहरी निरीक्षक चन्दले बताउनुभयो । लाली पुल खोल्नका लागि लेकम गाउँपालिकाबाट जिल्ला प्रशासनमा कुनै पत्राचार नभएकाले लालीको पुल खोलीने छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !