नेपाल प्रहरीका एक दर्जन युनिटबाट सीमा सुरक्षा हुँदै

0
836

दार्चुला, असार २९ गते ।
दार्चुलामा नेपाल प्रहरीका एक दर्जन युनिटहरुबाट सीमाक्षेत्रमा सुरक्षा निगरानी हुँदै आएको छ । पञ्चायतकाल देखि नै सीमा सुरक्षालाई प्राथमिकता दिएकाले भारतको सिमानामा एक दर्जन प्रहरी इकाइहरु क्रियासिल रहदैआएका छन् । चीनसंगको सिमा हेर्ने गरी व्यासको तिंकरमा पनि प्रहरी चौकी सञ्चालनमा छ ।
भारतसंग सिमा जोडिएको लालीदेखि व्याससम्मको क्षेत्रमा एक दर्जन प्रहरी इकाइहरु सञ्चालनमा रहेको दार्चुला प्रहरी प्रमुख डिएसपी पदमवहादुर विष्टले बताउनुभयो । महाकाली नदी किनारको क्षेत्रका प्रहरी इकाइहरुले आन्तरिक सुरक्षा र सीमा सुरक्षालाई एकसाथ हेर्दैआएको उहाँको भनाई छ ।
‘नेपाल प्रहरीको प्रमुख म्यान्डेट देशभित्रको शान्ति सुरक्षा हो तर दार्चुलामा विगतदेखि नै प्रहरी सिमा सुरक्षामा पनि सक्रिय छ’ डिएसपी विष्टले भन्नुभयो । सिमाको सुरक्षाकै लागि पञ्चायतकालमा तिंकर र लालीमा सिमा प्रहरी चौकी स्थापना भएका थिए ।
व्यासको तिंकरमा २०२४ सालमा सिमा प्रहरी चौकी स्थापना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको अभिलेख छ । तिंकर चौकीमा प्रहरी नायव निरीक्षकको कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका छन् । व्यासको तिंकर प्रहरी चौकीले चीनसंगको सिमाक्षेत्र हेर्ने गर्दछ ।
सिमा प्रहरी चौकी लालीको स्थापना २०३३ सालमा भएको थियो । २०६७ सालमा स्तरवृद्धि गर्दै लालीको सिमा प्रहरी चौकीलाई क श्रेणीको बनाइएको छ । हाल उक्त चौकीमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को दरबन्दी रहेको जिप्रका दार्चुलाले जनाएको छ ।
भारतसंग सिमानाका भएका स्थानमा पञ्चायतकाल मै प्रहरी चौकी राखिएका थिए । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिवी र महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तुमा नेपाल–भारत जोड्ने सिमानाकाको सुरक्षा प्रहरी चौकीबाट हुँदैआएको छ । महाकाली नदीमा बनाइएको झोलुंगे पुलहरुले दुई देशलाई जोडेका छन् । जोलजिवीमा २०२२ सालमै प्रहरी चौकी स्थापना भएको थियो भने दत्तुमा २०३४ सालमा चौकी स्थापना भएको थियो । दत्तुमा चौकी स्थापना हुँदा प्रहरी निरीक्षककै नेतृत्वमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयमा अभिलेख छ ।
भारतसंग सिमानाका भएको व्यास गाउँपालिका वडा नम्बर ५ तिगरममा अस्थायी प्रहरी पोष्ट राखिएको छ । २०७४ सालमा दुई देश जोड्ने नयाँ झोलुंगे पुल निर्माण गरिएपछि तिगरममा प्रहरी टोली राखिदैआएको छ । तिगरम पुलको सुरक्षा र सिमाको निगरानीका लागि पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुको सितापुलमा पनि विगतदेखि प्रहरी चौकी रहदैआएको छ । दुई महिनाअघि छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना गरिएपछि हाल सितापुलमा रहेको सिमानाकाको सुरक्षा सशस्त्र प्रहरीले गर्दैआएको छ ।
भारतसंग सिमाना जोडिएका आधा दर्जन गाउँहरुमा पनि प्रहरी चौकीहरु छन् । सिमाक्षेत्रका गाउँहरुमा रहेका प्रहरी इकाइहरुबाट आन्तरिक सुरक्षाका साथै सिमाक्षेत्रको अवस्था र गतिविधिमाथि निगरानी हुँदैआएको डिएसपी पदमवहादुर विष्टले बताउनुभयो ।
हुतीमा इलाका प्रहरी कार्यालय रहेको छ । हुतीको प्रहरी युनिटमा प्रहरी निरीक्षकको नेतृत्व छ । व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा र वडा नम्बर ५ धौलाकोटमा पनि प्रहरी चौकी छ । व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा अस्थायी प्रहरी पोष्ट छ । दुम्लिङमा असार १८ गतेदेखि सशस्त्र प्रहरीको पनि विओपी स्थापना गरिएको छ ।
दार्चुला सदरमुकामको पुलघाटमा २०२८ सालदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा छ । दार्चुलामा सशस्त्र प्रहरीको गुल्म स्थापना हुनुअघिसम्म नेपाल प्रहरीले नै सिमानाकाको सुरक्षा गर्दैआएको थियो । हाल खलंगाको पुलघाटमा सशस्त्र प्रहरी र नेपाली प्रहरी दुबैको टोली खटिएको छ ।
दुहुँ गाउँपालिकाको वडा नम्बर ३ ब्रह्मदेवमा पनि प्रहरी चौकी छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाभरीको शान्ति सुरक्षाका साथै सबै प्रहरी इकाईहरुको सुपरीवेक्षण र समन्वय गर्दैआएको छ । ‘जिल्लाभरीका प्रहरी इकाइहरुको परिचालनको कन्ट्रोल जिप्रकाबाट हुन्छ, नेपाल प्रहरीले आन्तरिक शान्ति सुरक्षाका साथै सिमाक्षेत्रलाई उत्तिकै महत्व दिदैआएको छ’ दार्चुला प्रहरी प्रमुख डिएसपी विष्टले भन्नुभयो ।