नेपाल निजामती कर्मचारी सङ्गठनले भन्यो– निर्वाचनको कर्मचारी व्यवस्थापनमा समान व्यहार भएन

0
511

दार्चुला, बैशाख २० गते । 

स्थानीय तह निर्वाचनका लागि कर्मचारी खटाउँदा मापदण्डको पालना नभएको भन्दै नेपाली निजामती कर्मचारी संगठन दार्चुलाले विज्ञप्ति जारी गरेको छ ।

सोमबार प्रकाशित दार्चुलाका स्थानीय तहमा निर्वाचनका लागि खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावलीमा केही ट्रेड युनियनका पदाधिकारी नखटाएको, विना कुनै मापदण्ड कुनै विद्यालयका शिक्षक मतदान अधिकृतमा खटाएको, कर्मचारी खटाउँदा जेष्ठता र तहलाई नजरअन्दाज गरिएको, राजनीतिक दलका पदाधिकारी र उम्मेदवारको आफन्तलाई निर्वाचनमा खटाएको विषयमा आफ्नो आपत्ति रहेको नेपाल निजामती कर्मचारी संगठन दार्चुलाले जनाएको छ । 

‘कर्मचारी व्यवस्थापनमा समान व्यवहार सहित निश्चित मापदण्डका आधारमा निश्पक्ष रुपमा कर्मचारी व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ’ अध्यक्ष मनोरथ जोशी र सचिव राजेन्द्र सिह धामीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

स्थानीय तह निर्वाचन निर्देशिका २०७८ र स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ ले जिल्लामा रहेका कर्मचारीहरुलाई निर्वाचनमा खटाउँदा निश्चित मापदण्ड र आधारहरु तोकेको भएपनि निर्देशिका विपरित मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइएको नेपाल निजामती कर्मचारी संगठन दार्चुलाका अध्यक्ष मनोरथ जोशीको भनाई छ ।