नेपाली सेना द्धारा गोकुलेश्वर विमानस्थलको हवाई निरीक्षण

0
832

बिरा दत्त भट्ट, दार्चुला ।

नेपाली सेनाले मंगलबार दार्चुलाको गोकुलेश्वर विमान स्थल सहित सुदुरपश्चिमका विमानस्थलहरुको हवाई निरीक्षण अनुगमन गरेको छ ।
नेपाली सेनाको विमानले मंगलबार ल्याण्ड नगरि आकाशबाटै हवाई निरिक्षण गरि फर्किएको दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिनुभयो ।
यो संगै बैतडीको पाटन, बझाङको चैनपुर विमानस्थल, डोटी विमानस्थलको समेत हवाई अनुगमन गरिएको बताइएको छ ।
दार्चुलाको गोकुलेश्वर विमान स्थलमा नेपाली सेनाले हवाई निरिक्षण अनुगमन गरेको विषयमा दार्चुला स्थित नेपाली सेनाको दुर्गा दल गुल्मलाई भने औपचारीक जानकारी नभएको गुल्मपति श्याम राजा विक्रम थापाले जानकारी दिएका छन् । “मैले पनि विमानले हवाई अनुगमन गर्यो भन्ने पत्रिकामा पढेको हुँ, प्रहरीलाई बुझ्दा आकाशबाटै अनुगमन गरिएको रहेछ” गुल्मपति थापाले भन्नुभयो ।

बैतडीको पाटन विमान स्थल पिच भइसकेको छ भने दार्चुलाको गोकुलेश्वर विमान स्थल निर्माणका लागी आगामी आर्थिक बर्षमा एक करोड बजेट समेत विनियोजन गरेको छ ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधीसभा सदस्य गणेश सिह ठगुन्नाको पहलमा नागरिक उड्ययन प्राविधिकरणका प्राविधिकहरुको टोलीले २०७५ मंसिर २८ गते विमान स्थलको स्थलगत अध्ययन गरेको थियो । त्यसबेला स्थलगत अध्ययन गरेका इन्जीनियर बालकिशोर रेग्मीले सामान्य अध्ययनबाट केही भवनहरु र पुल विमान स्थल सञ्चालनको बाधक हुने देखिएको बताएका थिए ।
नेपाल सरकारले पछिल्लो समय गोकुलेश्वर विमान स्थल सञ्चालनका लागि आश लाग्दा कार्य गरिरहेको छ । विगतमा पुल र भवनहरुलाई बाधक देखाउदै सञ्चालन नगरिएकोमा सरकारले अहिले पनि बजेट नै विनियोजन गरेर सञ्चालनको तयारी गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले गोकुलेश्वर विमान स्थल सञ्चालनका लागि चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममै राखेको थियो भने आगामी वर्षका लागि बजेट एक करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्षमा सरकारले विमान स्थल सञ्चालनका लागि बजेट विनियोजन गरेकाले बन्द गोकुलेश्वर विमानस्थल सञ्चालनमा आउने दार्चुलाबासीले अपेक्षा गरेका छन् ।