नेपाली गाउँ गुञ्जीमा शिब महोत्सव लगाउदै भारत

0
906
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

दार्चुला, कार्तिक ११ गते ।
भारतले अतिक्रमण गरेको दार्चुलाको गुञ्जी गाउँमा भगवान शिव महोत्सवको आयोजना गरिदै छ । पछिल्लो समय नेपाल सरकारले नयाँ नक्सा जारि गर्दै गुञ्जी, कुटी र नाविगाउँ लगायत लिम्पियाधुरा क्षेत्र समाबेश गरि नयाँ नक्सा सार्वजनिक गरेको छ । नेपालले नक्सा जारि गरेपनि आफ्नो प्रशासनिक अधिकार कायम गर्न सकेको छैन । उक्त अतिक्रमित नेपाली भूमी गुञ्जीमा भारतको पिथौरागढ जिल्ला प्रशासनले भोली कार्तिक १२ गतेदेखि तीन दिन सम्म शिव महोत्सवको आयोजना गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गुञ्जी कालापानी बाट सबै भन्दा नजिकको गाउँ हो । गुञ्जीबाट कालापानी ९ किलोमिटर उत्तरी क्षेत्रमा पर्दछ भने लिम्पियाधुरा करिब ३० किलोमिटर पश्चिमोत्तर क्षेत्रमा पर्दछ ।
गुञ्जीमा लिपुलेक, कालापानी क्षेत्रबाट बगेर आउने लिपुखोला( जसलाई भारतले महाकाली भनेर दाबि गर्छ) र लिम्पियाधुराबाट बगेर आउने सक्कली महाकाली नदी ( जसलाई भारतले कुटीखोला भनेर दाबी गर्छ) को दोभान रहेको छ । गुञ्जीमा भारतले प्रहरी, सशस्त्र सीमाबल तथा आर्मी तैनाथ गरको छ । गुञ्जीलाई भारतले कालापानी, लिपुलेक क्षेत्रको सुरक्षा केन्द्रका रुपमा विस्तार गरेको छ ।
हिन्दु धर्मको आस्थाको केन्द्र चीनको मानसरोवर प्रबेश मार्गका रुपमा रहेको गुञ्जी क्षेत्रबाट ओम पर्वत, आदी कैलाश जस्ता प्रसिद्ध धार्मिक क्षेत्र नजिक रहेका छन् । तीन दिन सम्म आयोजना गरिएको शिव महोत्वसमा विभिन्न धार्मिक, सांसकृतीक तथा खेलकुदका कार्यक्रमहरु गरिने तालिका छ ।
नेपाल, भारतको धार्मिक र सामाजिक परिवेश एउटै भएको अवस्थामा उक्त क्षेत्रमा महोत्सव गर्नुको त्यति ठुलो अर्थ नभएपनि सरकारले अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नेपाली भएको महशुस गराउन विषेश कार्यक्रम ल्याउनुपर्ने जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर सिह कार्कीको भनाई छ ।
‘२०१२ साल पहिले त्यहाँ नेपालकै प्रशासनिक अधिकार कायम थियो तर राज्यले त्यस क्षेत्रमा अहिले अझै पहुँच विस्तार गर्न सकेको छैन, भारतले अतिक्रमित गाउँका नागरिकहरुलाई विभिन्न सेवा सुविधा दिइरहेको छ, नेपालले उनिहरुलाई नेपाली नागरिक भएको अपनत्व महशुस गराउन समेत सकिरहेको छैन’ कार्कीले भन्नुभयो ।