नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ

0
604

प्रहरीले नेकपा (प्रचण्ड–माधव पक्ष ) नेतृ रामकुमारी झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ। बिहीबार शंखमुलस्थित निवासमै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको हो। नेतृ झाँक्रीलाई प्रहरीले थमाएको पक्राउ पूर्जीमा राज्‍य विरुद्धको कसूर गरेको उल्लेख छ।

राज्यविरुद्धको कसुर, दफा ५८ अनुसार प्रहरीले झाँक्रीलाई पक्राउ पूर्जी दिएको हो। पूर्जी पाएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन्‌।यो दफामा ‘बल प्रयोग गरी वा नगरी राष्ट्रपति वा संसद्‌लाई कुनै किसिमको धम्की दिने वा डरत्रास देखाउने वा दबाब दिने कसूर’ उल्लेख छ। यस्तो कसूर गर्नेलाई ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना या दुवै सजाय हुने व्यवस्था छ। पक्राउ गर्न निवासमै प्रहरी पुगेपछि त्यहाँ केन्द्रित भएका नेकपाका कार्यकर्ताहरूले झाँक्रीको समर्थन र सरकारको विरोधमा चर्का नाराबाजी गरेका थिए।प्रहरीले झाँक्रीलाई सोधपुछका लागि भन्दै महानगरीय अपराध महाशाखामा बोलाएको थियो। तर, उनी नगएपछि पक्राउ गर्न निवासमै पुगेको थियो।झाँक्रीले अघिल्लो साता गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे दिएको मन्तव्य आपत्तिजनक रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपा समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो।