नेकपामा १४ जना जिल्ला सदस्य मनोनयनको प्रस्ताव

0
2181

दार्चुला, पुष ११ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्चुला जिल्ला कमिटीमा १४ जना सदस्य मनोनयन गर्न गृहकार्य सुरु गरेको छ । पार्टी विधानको व्यवस्थाअनुसार १ सय ३५ सदस्यीय जिल्ला कमिटीको १० प्रतिशत सदस्य संख्या मनोनयन गर्न पार्टीको जिल्ला कार्यालय टीमले नामावली चयन गरेको छ ।
शुक्रवार बसेको कार्यालय टीमको बैठकले जिल्ला कमिटीका १४ जना सदस्य मनोनयन गर्न नामावलीको टुंगो लगाएको जिल्ला अध्यक्ष गणेशसिह खत्रीले बताउनुभयो । तत्कालिन एमालेबाट ८ जना र माओवादी पक्षबाट ६ जना जिल्ला कमिटी सदस्यमा मनोनयन गर्ने प्रक्रिया अघि बढेको हो ।
तत्कालिन एमालेबाट मालिकार्जुन गाउँपालिका वडा नम्बर २ भगवतीका गणेशसिह धामी, महाकाली नगरपालिका वडा नम्बर १ छापरीका गगनसिह धामी, नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डका मंगलसिह ठगुन्ना र मालिकार्जुन गाउँपालिका वडा नम्बर २ भगवतीका हिरासिह धामीलाई जिल्ला सदस्यमा मनोनयन गर्ने टुंगो लगाइएको हो ।
मनोनयन गरिन लागेकामध्ये गणेशसिह धामी तत्कालिन एमालेका जिल्ला सल्लाहकार कमिटी अध्यक्ष हुन् भने गगनसिह धामी अधिवक्ता एवं सिनियर एमाले नेता हुन् । मंगलसिह ठगुन्ना दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् भने हिरासिह धामी अखिलका पूर्व जिल्ला अध्यक्ष एवं सामाजिक क्षेत्रमा क्रियासिल कार्यकर्ता हुन् ।
तत्कालिन एमालेबाट जिल्ला कमिटीमा मनोनिय हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का लक्ष्मीराज जोशी, व्यास गाउँपालिका वडा नम्बर ४ सुन्सेराका मोहनसिह विष्ट, शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का पदम विश्वकर्मा, महाकाली नगरपालिका वडा नम्बर ६ का विशनसिह बोहरा छन् । बोहरा दार्चुला उद्योग वाणिज्य संघका पूर्व महासचिव तथा अखिलका पूर्व नेता हुन् ।
तत्कालिन माओवादीका जिल्ला कमिटी सदस्य मनोनयन हुनेमा मार्मा गाउँपालिकाका जयसिह महर र केशवसिह धामी, शैल्यशिखर नगरपालिका बसन्ती साउद, दुहुँ गाउँपालिकाका लीला कुवर र हंसराम कुवर छन् । यसैगरी, मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का जयराज पन्त पनि जिल्ला कमिटी सदस्यमा मनोनयन भएका छन् । पन्त पेशाले इन्जिनियर हुन् ।