नेकपाको जिल्ला नेतृत्व चयन, खत्रीलाई अध्यक्ष बनाउने कार्यदलको तयारी

0
2520

माओवादीभित्रै असहमति
दार्चुला, भदौ २ गते ।
नेकपाको जिल्ला नेतृत्व चयन गर्ने गृहकार्य भइरहेको छ । नेतृत्व चयनका लागि धेरैजसो नेताहरु काठमाण्डौ केन्द्रीत भएका छन् । भीम रावल, लेखराज भट्ट, कर्णवहादुर थापा र लक्ष्मणदत्त जोशी सम्मिलित कार्यदलले दार्चुलामा पार्टीको नेतृत्वमा गणेशसिह खत्री पावेललाई ल्याउन तयारी गरेको छ ।
सात नम्बर प्रदेशअन्तर्गतका ९ वटै जिल्लाको अध्यक्ष र सचिव पदको पदीय बाँडफाँड सकिएको छ । कार्यदलले दार्चुलामा पार्टी अध्यक्ष पूर्वमाओवादी र सचिव पूर्व एमालेलाई दिने खाका बनाइसकेको एक नेताले बताउनुभयो ।
श्रावणको अन्तिममा कार्यदलले जिल्ला नेतृत्वको खाकालाई अन्तिम रुप दिइसकेको काठमाण्डौमा रहेका एक जिल्ला नेताले जानकारी दिनुभयो । पूर्वमाओवादीमा हाल राजकीय पदमा नरहेका मध्ये गणेशसिह खत्रीलाई पार्टी अध्यक्ष बनाउने तयारी कार्यदलले गरेको छ । तर पूर्वमाओवादीभित्रै खत्रीलाई अध्यक्ष बनाउने विषयमा विवाद रहेको एक पूर्वमाओवादी नेताले बताए ।
एमाले र माओवादीका पूर्व जिल्ला अध्यक्ष र जिल्ला इन्चाईहरुबीच छलफल गराएर सर्वसम्मत रुपमा अध्यक्ष र सचिव पदका लागि व्यक्ति छनौट गरी प्रयास गरिएको स्रोतले बतायो । तर माओवादी जिल्ला इन्चार्ज रहेका प्रदेशसभा सदस्य मानवहादुर धामीले पार्टी अध्यक्ष रामदत्त जोशीको नाम प्रस्तावित गरेको स्रोतको भनाई छ ।
स्थानीय तह निर्वाचनमा लेकम गाँउपालिकाको अध्यक्ष पदमा चुनाव लडेका जोशी तत्कालिन माओवादी केन्द्रका जिल्ला सहसचिव पनि हुनुहुन्छ । चारजनाको कार्यदलले अध्यक्ष बनाउन खोजेका गणेशसिह खत्री भने माओवादी जिल्ला संयोजक रहेका थिए । गत मंसिरको निर्वाचन परिचालनमा उपसंयोजकको भूमिका रहेका खत्रीलाई पार्टी जिल्ला अध्यक्ष बनाउन कार्यदलका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशीले विशेष भूमिका खेलेको स्रोतले बतायो ।
प्रदेशसभा सदस्य मानवहादुर धामी सन्तोष लगायत केही नेताहरु भने पार्टी जिल्ला अध्यक्षको विवाद पार्टी सचिवालयसम्म पुर्याउने योजनामा रहेको हाल काठमाण्डौमा रहेका एक नेताले बताए ।
कस्को भागमा कुन पद र कति संख्या भन्ने विषय कार्यदलले टुंगो लगाइसकेको छ । दार्चुलामा गठन हुने १ सय २५ सदस्यीय जिल्ला कमिटीमध्ये एमालेको भागमा ७० जना र माओवादीको भागमा ५५ जना परेका छन् । ४५ जनाको सचिवालयका एमालेबाट २५ जना र माओवादीबाट २० जना रहनेछन् । त्यस्तै अध्यक्ष र सचिवसहितको कार्यालयमा ४ जना माओवादी र ३ जना एमालेबाट रहने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here