निषेधाज्ञा खुकुलोसँगै दार्चुलामा बढ्न थाल्यो कोरोना

674

बिरा दत्त भट्ट
दार्चुला, असार १५ गते ।
दार्चुलामा निषेधाज्ञा खुकुलो भएसँगैै कोरोना संक्रमणदर बढ्न थालेको छ । दोस्रो भेरियन्टको कोरोना भाइरस दार्चुलामा पहिलो पटक २०७७ चैत्र २७ गते भारतबाट फर्किएका एक जनामा पुष्टि भएको थियो ।

दोस्रो भेरियन्टको कारोना पुष्टि भएयता २०७८ बैशाखा १६ गते देखि जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको थियो भने बैशाख २५ गते देखि प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जिल्लाभरि निषेधाज्ञा जारि गर्नुभएको थियो । निषेधाज्ञाको सुरुको अवधिमा कोरोना संक्रमण उच्च देखिएपनि पछिल्ला दिनहरुमा दार्चुलामा कोरोना संक्रमण घट्दै गएको थियो । तर निषेधाज्ञा खुकुलो भएसँगै दार्चुलामा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । जिल्ला कोभिड १९ ब्यवस्थापन समिति दार्चुलाको असार ९ गते बसेको बैठकले १० गते देखि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको थियो । जिल्लाको यातायात जोर विजोर प्रणालीमा सञ्चालन गर्ने, खाद्यान्न लगायतका अत्यावस्यकिय पसलहरु विहान ६ बजे देखि दिउसो १२ बजे सम्म खुला गर्ने लगायत विगतको भन्दा निषेधाज्ञा केहि खुकुलो गर्ने गरि निषेधाज्ञा जारी गरेको थियो । झण्डै डेढ महिना सम्म कडा रुपमा जारि गरिएको निषेधाज्ञा खुकुलो गरिए सँगै जिल्लामा कोरोना संक्रमण दर पुनः बढ्न थालेको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार असार ६ गते २ जना, असार ७ गते ११ जना र असार ८ गते ४ जनामा कोरोना पुष्टि भएको थियो । दैनिक रुपमा संख्यात्मक रुपमा कोरोना देखिरहेको दार्चुलामा असार ९ गते कोरोना संक्रमण शुन्य रह्यो । असार ९ गते झण्डै २४ जनामा कोरोना परिक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि भएको थिएन । दार्चुलामा कोरोना संक्रमण दर निरन्तर ओरालो लागिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले असार १० गते देखि जारी हुने गरि निषेधाज्ञा केहि खुकुलो गरेको थियो । असार ११ गते २ जना र १२ गते शुन्य रहेको कोरोना संक्रमण दर असार १३ गते देखि निरन्तर बढिरहेको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार असार १३ गते ११ जनामा कोरोना संक्रमण पुष्टि भयो । असार १४ गते १६ जनामा र असार १५ गते १० जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा निषेधाज्ञा खुुकुलो भएकाले कोरोना संक्रमण दर बढिरहेको हुन सक्ने स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीको भनाई छ । ‘जिल्लामा निषेधाज्ञा केहि खुकुलो भएकाले आवत–जावत बढेको छ, कोरोना संक्रमण दर पछिल्लो समय बढ्नुमा त्यो कारण पनि हुन सक्छ’ कार्कीले भन्नुभयो । कोरोना संक्रमण दर निरन्तर बढ्न थाले निषेधाज्ञामा थप कडाई गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीको भनाई छ । जिल्लामा कोरोना संक्रमण दर घट्दै गएकाले १० गते देखि २० गते सम्म लागु हुने गरि निषेधाज्ञा खुकुलो गरिएको छ । ‘अन्य जिल्लाहरुमा पनि खुकुलो बनाइएको र दार्चुलामा पनि कोरोना संक्रमण दर घटिरहेको अवस्था देखिएकाले निषेधाज्ञा खुकुलो बनाइएको हो, संक्रमण दर बढेमा पुनः निषेधाज्ञामा कडाई हुन सक्छ’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले खाद्यान्न तथा अत्यावस्यक पसलहरु मात्रै विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खुला गर्ने भनिएकोमा जिल्ला सदरमुकाम खलंगामा होटेल, कपडाका पसल लगायत सबै पसलहरु खोल्ने गरिएका छन् । ‘प्रशासनले खाद्यान्न पसलहरु मात्रै खोल्ने भनेको हो, अन्य पसलहरु खुलिरहेको बारे अनुगमन गर्छाै’ सहायक प्रजिअ जोशीले भन्नुभयो ।

मंगलबार १० जनामा कोरोना पुष्टि

दार्चुलामा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार आज ५९ जनाको कोरोना परिक्षण गरिएकोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये जिल्ला अस्पतालमा गरिएको कोरोना परिक्षणमा १ जना, पुलघाट नाकामा १, शैल्यशिखर नगरपालिकामा ७ जना तथा मार्मा गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ । हाल ५७ जना संक्रिय संक्रमित रहेका छन् । दार्चुलामा हालसम्म १ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ९४ जनाले कोरोना जितेका छन् । दार्चुलामा हाल सम्म ४ हजार ४ सय ३० जनाको कोरोना परिक्षण गरिएको छ भने ११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !