नाम्खा समस्या कि प्रोपोगाण्डा ?

0
581

सम्पादकीय ।
हुम्लाको नाम्खा क्षेत्रमा चीनले नेपालको भुभागमा भौतिक संरचना निर्माण गरेको भन्दै नेपाली काँग्रेस संसदीय दलका नेताले चीनले नेपाली सीमा मिचेको कुरा सार्वजनिक गरे तर गतवर्ष नेपाल सरकारका अधिकारीसहित सुरक्षाकर्मीको टोलीले भौतिक संरचना चीनतर्फ नै पर्ने निष्कर्ष निकाल्यो ।

चीनले सीमा मिचेको भन्दै समाचार लेख्ने कान्तिपुर र हुम्लाका सहायक प्रजिअले माफि मागे । ओली सरकारले लिपुलेकलाई समेटेर नक्सा जारी गेरपछि झिकिएको नाम्खामा चीनले हस्तक्षेप गरेको कुरा साठी वर्ष पहिले नै समाधान भएको विषय हो । तत्कालीन चिनीयाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङ र नेपालका राजा महेन्द्रबीच भेटघाट नै गरेर नेपाल चीन सीमा निर्धारण गरेको थियो । नाम्खा गाउँपालिकाका अध्यक्षसमेत चीनले सीमा नमिचेको, उसले आफ्नै भुगोलमा भौतिक निर्माण गरेको बताएका छन् तर सरकारले चीनसँगको सीमा समस्या समाधान गर्न अध्ययन समिति नै गठन गरेको छ । नाम्खाको समस्या जब जब भारतसँग सम्बन्ध बिग्रिन्छ वा जब जब भारत बिरोधि गतिबिधि हुन्छन् वा जब जब नेपाल सरकारले भारत सरकारसँग केही विषयमा निर्णय लिनु पर्ने हुन्छ तब तब बल्झन्छ । तसर्थ यसलाई समस्या मान्ने कि भारतले गरेका गल्तिहरुलाई लुकाउन नेपालमा गरिने प्रोपोगाण्डाका भन्ने ?
नेपालको एक इन्च भुमि कसैले प्रयोग गर्न पाउँदैन । हामी त्यसका लागि प्रतिबद्ध रहनु पर्दछ तर लिम्पियाधुरा नेपालको नक्सामा समेटिदा झिकिएको नाम्खाको विवाद भारतीय सुरक्षाकर्मीले तुइन फुस्काएर नेपाली युवा बेपत्ता भएको घटनाको छानबिन गर्नसमेत भारतले आलटाल गरिरहेको बेला फेरी उठेको छ । यो संयोग मात्रै हुन सक्दैन । भारतको कमजोरीहरुलाई छिपाउन सरकारले जानिजानि यस्तो गरेको हो भने यो खुलमखुला अपराध हो र दुई देशबीच सम्बन्ध बिगार्ने प्रपञ्च मात्रै हो । गत वर्ष नाम्खा विवाद सार्वजनिक हुँदा चिनियाँ राजदुतले नेपाली काँग्रेसलाई पठाएको पत्र र उक्त पत्रमा उल्लेख भएको सन्दर्भ नेपाली काँग्रेसलाई सम्झना हुनु पर्दछ ।
यो विषयमा सत्ता साँझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले ‘गठनबन्धको साझा धारणा बनाउन’ भन्ने कुरा मात्रै गर्न सकेका छन् । सरकारले समिति नै गठन गरेको, समाधान भएको विषय, पटक पटक सरकारी निकायले हेरेको क्षेत्र र स्थानीय सरकार प्रमुखले नै चिनले भूमि मिचेको छैन भनेको विषयमा विवाद झिकेको कुरालाई यी दलहरुको मौन समर्थन देख्दा भारतका सामु सत्तासीन दलहरु नतमस्तक भएको प्रमाणित गरेको छ । भारतले कब्जा गरेको लिम्पियाधुरा क्षेत्रलाई समस्याका रुपमा निरुपण गर्दा मौन समर्थनमा रहने सत्ता साँझेदारहरु कै कारणले नेपाली काँग्रेसले हुँदै नभएको सीमा विवादको कुरा झिकेको छ ।