नयाँ वर्षदेखि पिथौरागढमा २८ सिटे विमानबाट सेवा

2148

दार्चुला, पुष १ गते ।
नयाँ वर्ष सन् २०२० देखि पिथौरागढमा २८ सिटे विमानबाट हवाइसेवा सञ्चालन हुने भएको छ । पिथौरागढस्थित नैनीसैनी हवाइमैदानबाट देहरादून, पन्तनगर र दिल्लीको हिडनसम्म नयाँ विमानबाट सेवा सञ्चालन गर्न गृहकार्य सुरु गरिएको छ ।
नैनीसैनी एयरपोर्टका निर्देशक एसके सिंह र पिथौरागढका डिएम डा. विजयकुमार जोगदण्डेले शनिवार एयरपोर्ट क्षेत्रको स्थलगत निरीक्षण गरी यसबारे छलफल गरेका छन् । हाल पिथौरागढसम्म ९ सिट क्षमताको सानो विमानबाट हवाइसेवा दिइदैआएको छ । यात्रुको चापलाई मध्यनजर गर्दै २८ सिट क्षमताको विमानबाट नयाँ वर्षदेखि सेवा सुरु गर्ने तयारी भइरहेको भारतीय पत्रिका दैनिक जागरणले जनाएको छ ।
शनिवरको निरीक्षण भ्रमण र छलफलमा इन्डियन आयलका अधिकारीको समेत सहभागिता रहेको थियो । हवाइमैदानमै हवाइ इन्धनको आपुर्ति गर्नेबारे छलफल गरिएको बताइएको छ । हवाइ ट्राफिक र सुरक्षा व्यवस्थाको पनि समीक्षा गरिएको भारतीय पत्रिकाले जनाएको छ । नयाँ वर्षको सुरुवातीदेखि २८ सिटको विमानबाट सेवा सञ्चालन हुने नैनीसैनी एयरपोर्टका निर्देशक एसके सिंहले बताउनुभयो ।
तीनवटा विमान कम्पनीले यसबारे प्रतिस्पर्धा गरिरहेको उहाँले बताउनुभयो । प्रतिस्पर्धाबाट एउटा कम्पनी छनोट गरेपछि २८ सिटको विमानबाट नियमित सेवा दिइने सिंहको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !