नयाँ बर्ष मनाउँदै शौका समुदाय

0
694

दार्चुला, माघ २७ गते ।

दार्चुलामा मात्रै बसोबास रहेको शौका समुदायले विहिबार नयाँ वर्ष मनाउँदैछ छ । ब्यास गाउँपालिका वडा नं १ छाङरुको शौका समुदायले आज गबला पर्व मनाइरहेको व्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक सिह बोहराले बताउनुभयो । शौका समुदायले नयाँ बर्षको आवागमनको रुपमा गबला पर्व मनाउने गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिकाको वडा नं १ तिंकर र छाङरु, वडा नं २ को राप्ला, दुम्लीङ तथा अपीहिमाल गाउँपालिका वडा नं ६ सीतोलामा रहेको शौका समुदायले बसोबास गर्छन । सासंकृतीक रुपमा धनी शौका समुदायको छुटै बोली र भेषभुषा रहेको छ ।

गबला पर्व मनाएपश्चात् मात्रै विबाह, ब्रतबन्ध जस्ता शुभकार्य गर्ने परम्परा रहेको छ । गबला पर्व मनाउनु पूर्व साइत जुराएर “धच्र्यु चुमो” गर्ने परम्परा रहेको छ । सौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ ।

शौका समुदाय भित्र पनि अन्य शौका समुदायले फरक–फरक तिथिमा गबला पर्व मनाउने गरेका छन् । गबला पर्व मनाउने तिथि अनुसार शौका समुदायले आफ्नो नयाँ बर्ष मनाउँछन् । छाङरुमा रहेको शौका समुदायले माघ शुक्ल नवमी तिथि तिंकरमा रहेको शौका समुदायले पुष पुर्णीमा तिथि र सितोलामा रहेको शौका समुदायले माघ शुक्ल पञ्चमीका दिन गबला पर्व मनाउने गरेको वडाध्यक्ष बोहराले बताउनुभयो ।
शौका समुदायको भेषभुषा, खानपिन, रहनसहन, धार्मीक संस्कार एउटै छ । गबला पर्वमा यी तिनवटै समुदायले प्रकृती देवताको पुजा गर्छन । तर फरक–फरक तिथिमा परावपुर्वकाल देखी नयाँ बर्ष गबला मनाउदै आइरहेको वडाध्यक्ष बोहरा बताउँछन् । ‘नयाँ बर्ष भन्ने मात्रै हुन्छ, संख्यात्मक रुपमा व्यक्त गर्ने हाम्रो समुदायमा चलन छैन’ उहाँले भन्नुभयो । बोहरा आफै शौका समुदायका हुन् । सबै शौका समुदायलाई एउटै तिथिमा गबला पर्व मनाउँन छलफल गरिएको भएपनि मुर्त रुप लिन नसकेको उहाँको भनाई छ ।

पर्वमा शौका जातिहरुले दमाहा बाजागाजाका साथ मन्दिरमा गई प्रकृती देवताको पुजापाठ गर्ने चलन परापुर्वकाल देखि नै रहिआएको छ । आजको दिनमा विभिन्न प्रकारका मिठामिठा खानेकुराहरु पकाएर मन्दिरमा चडाएर पूजापाठ गरे पश्चात मात्रै खाने चलन छ । साथै यस पर्वमा टाढा–टाढा रहनुभएका आफन्त इस्टमित्रहरूसँग भेटघाट हुने भएकाले एक आपसमा माया सदभाव साटासाट गर्ने गरिन्छ ।

गबला पर्व फरक तिथिमा मनाउँदा एक अर्काको गबला पर्वमा उपस्थित भई शौका जातिमा एकताको भावना ल्याउने गरेको शौका समुदायका अगुवाहरूको भनाई छ । यस पर्वमा शौका समुदायले आफ्नै रिती अनुसारको देउसी समेत खेल्ने गरेका छन् ।