नयाँ कानुनबारे एकैतिन तीन निकायको कार्यक्रम

2378

दार्चुला, भदौ १ गते ।
शुक्रवार अर्थात भदौ १ देखि लागू भएको नयाँ कानुनको कार्यान्वयनमा बारे जिल्लास्तरमा एकैदिन तीन निकायले कार्यक्रमको आयोजना गरेका छन् । एक वर्षअघि निर्माण गरी जारी भएका पाँचवटा कानुनहरु भदौ १ देखि लागू भएपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाबीच छलफल गरिएको हो ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ सहितका पाँचवटा महत्वपूर्ण ऐनहरु शुक्रवारदेखि देशभर कार्यान्वयनमा आएका छन् । विभिन्न १३ वटा ऐनहरु खारेजीमा परेका छन् भने ३८ ऐनहरु संसोधन गरिएका छन् ।
महत्वपूर्ण ऐनहरु कार्यान्वयनमा आएको अवसरमा शुक्रवार विहान जिल्ला अदालत दार्चुलाले छलफल कार्यक्रमको आयोजना गरेको छ । जिल्ला अदालतका श्रेस्तेदार शेरवहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करवीरवहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुका साथै अद्र्ध न्यायिक निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
जिल्ला अदालतको छलफल कार्यक्रममा नयाँ कानुनका व्यवस्था र कार्यान्वयनबारे छलफल गरिएको छ । छलफलका सहभागीहरुले नयाँ कानुनका व्यवस्थाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका छन् ।
शुक्रवार दिउसो २ बजे जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाले आयोजना गरेको कार्यक्रममा पनि सहभागीहरुले नयाँ ऐनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । ऐनका नयाँ व्यवस्थाहरु कार्यान्वयन गर्दा जिल्लास्तरमा छलफल र समन्वय बढाउनुपर्नेमा सहभागीहरुको जोड छ । जिल्ला न्यायाधिवक्ता निरञ्जन स्थापितको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यलगायत जिल्लास्थित सुरक्षा निकाय र अद्र्ध न्यायिक निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
शुक्रवार दिउसो ३ बजे जिल्ला प्रहरी कार्यालय दार्चुलाले पनि नयाँ कानुनको कार्यान्वयनबारे पत्रकार सम्मेलन गरेको छ । दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले नयाँ कानुनका व्यवस्था र प्रावधानहरु कडाइका साथ कार्यान्वयन हुने बताउनुभयो । कानुन कार्यान्वयनमा केही अस्पष्टता रहे पनि सरोकारवालासंगको छलफल र समन्वयबाट कार्यान्वयन गरिने उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता हिक्मतवहादुर बोहराले नयाँ कानुनी व्यवस्थाबारे पत्रकारहरुलाई जानकारी गराउनुभएको छ । कार्यक्रममा प्रहरी निरीक्षक रविन्द्र कठायत, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !