नगर बस सञ्चालनमा सडक बाधक !

0
741

दार्चुला, माघ २७ गते ।
महाकाली नगरपालिकाको खलंगा दलल्लेख सडक खण्डमा नगरबस सञ्चालन गर्न सडक बाधक बनेको छ । चालु आर्थिक बर्षमा खरिद गरिएको ३४ सिट क्षमताको नगर बस खलंगा दलल्लेख सडक खण्डमा सञ्चालन गर्न सडक बाधक बनेको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत युवराज जोशीले जानकारी दिनुभयो ।

हाल नगरपालिकाले वडा नम्बर ४ देखि ९ सम्म नगर बस सञ्चालन गर्दै आएको छ । बाँकी रहेका वडाहरुमा पनि नगर बस सेवा प्रदान गर्न दोस्रो नगर बस ल्याइएको नगर बस सञ्चालन तथा व्यवस्थापन समिति संयोजक पदम सिंह महरले बताउनु भयो । गत वर्ष वडा नम्बर ४ देखि ५, ६, ७, ८ र ९ सम्म नगर बस सञ्चालन गरेको महाकाली नगरपालिकाले यो वर्ष बाँकी क्षेत्रमा नगर बस सेवा सञ्चालनको तयारी गरेको छ । वडा नम्बर १, २, ३ क्षेत्रमा नगर बस सेवा नपुगेकाले उक्त क्षेत्रका लागि कात्र्तिक महिनातिर नगर बस खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युवाराज जोशीले बताउनु भयो । उहाँका अनुसार बस खरिद गरिएपनि सडक बन्न बाँकी रहेकाले बस सञ्चालन गर्न नसकिएको हो । ‘माथिल्लो क्षेत्रका लागि पनि बस ल्याइएको छ, तर बाटो बन्न बाँकी रहेकाले सञ्चालन गर्न सकिएको छैन’ जोशीले भन्नु भयो । खलंगा–बेत क्षेत्रमा सञ्चालनमा रहेको नगर बसमा केही खराबी आएपछि नयाँ बस पनि तल्लो क्षेत्रमै सञ्चालन गरिएको छ । खलंगा–बेत चल्ने नगर बसमा दुई वर्ष नपुग्दै खराबी आएपछि मुल्ला–मैखोली क्षेत्रका लागि ल्याइएको बस खलंगा–बेत खण्डमा चलाउन लागिएको हो । खलंगा–मुल्ला क्षेत्रमा सडक विस्तार कार्य चलिरहेकाले नगर बस सञ्चालन गर्न नसकिएको नगर बस सञ्चालन तथा व्यवस्थापन समिति संयोजक पदम महरको भनाई छ । ‘बाटो बनिरहेको छ, बाटो बन्ने बितिक्कै हामी माथिल्लो क्षेत्रमा पनि नगर बस सञ्चालन गर्छौ’ संयोजक महरले भन्नु भयो ।
‘पुरानो बसमा खराबी आएको रहेछ, पार्किङ गरेर राख्नु भन्दा सञ्चालन गर्नु उचित होला भनेर सल्लाह गरेरै तल्लो क्षेत्रमा चलाउन लागिएको हो’ उहाँले भन्नु भयो । नयाँ बस खरिद गर्न नगरपालिकाले ३६ लाख बजेट विनियोजन गरेको थियो ।
जिल्लाको पहिलो स्थानीय तहको रुपमा नगर बस सञ्चालन गरेको महाकाली नगरपालिकाले गत वर्षको बैशाख महिनाबाट खलंगा–बेतसम्म नगर बस सञ्चालन गरेको थियो ।