नक्सा पठाएको १८ दिनपछि हेलिकोप्टरबाट दार्चुला पुगेका थिए महानिर्देशक

949

तर नक्सा ल्याएनन्, रिक्तै आए र फर्किए
दार्चुला, साउन ७ गते ।
नापी विभागले असार ३ गते दार्चुलासहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका लागि ४ हजार थान नयाँ नक्सा पठाएको थियो । कैलालीको नापी कार्यालयमार्फत पठाइएको नयाँ नक्सा साउन पहिलो हप्तासम्म जिल्लास्तरमा पुग्न सकेको छैन । यसबीचमा नापी विभागका महानिर्देशक प्रकाश जोशीले भने दार्चुला भ्रमण समेत गरेका छन् ।
सुदूरपश्चिममा नयाँ नक्सा पठाएको १८ दिनपछि नापी विभागका महानिर्देशक प्रकाश जोशी नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला पुगेका थिए । तर जोशीले आफु नेतृत्वको विभागले प्रकासित गरेको नक्सा दार्चुला ल्याएनन् ।
परराष्ट्र मन्त्रालयको सहसचिव यज्ञवहादुर हमालको नेतृत्वमा उच्चस्तरीय सीमा निरीक्षण टोली असार २१ गते दार्चुला पुगेको थियो । सेनाको हेलिकोप्टरबाट व्यासक्षेत्रको छाङरु पुगेको उक्त टोलीमा करिब आधा दर्जन सहसचिवहरु र उच्च सुरक्षा अधिकारी सम्मिलित थिए । सिमाक्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षण गर्न टोली दार्चुला पुगेको थियो ।
निरीक्षण टोलीमा सहभागी नापी विभागका महानिर्देशक प्रकाश जोशीले दार्चुलामा नयाँ नक्सा पुगे–नपुगेको बारे कुनै सोधपुछ समेत नगरेको स्रोतले बतायो । सदरमुकाममा एक रात विताएको टोलीले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा प्रमुखहरुसंग छलफल गरेको थियो ।
‘असार २१ गते साँझ भएको छलफलमा सिमाक्षेत्रको अवस्था र सुरक्षा स्थितिबारे छलफल भएको थियो, नक्साको बारे कुनै छलफल भएन’ स्रोतले भन्यो । जिल्लास्तरका अधिकारीहरुले पनि नयाँ नक्साबारे कुनै चाँसो र जिज्ञासा नराखेको स्रोतको भनाई छ ।
‘सिमाबारे स्थलगत निरीक्षणमा आएको टोलीले नै नयाँ नक्सा पुगे–नपुगेको र नक्साको प्रयोगबारे जानकारी लिनुपथ्र्यो तर हेलिकोप्टर चढने रहर पूरा गर्न पर्यटकको शैलीमा उच्चस्तरीय टोलीको भ्रमण देखियो’ नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले भन्नुभयो । नक्सा प्रकासित गरेर वितरण गर्ने जिम्मेवारी रहेको नापी विभागकै महानिर्देशक आउदा पनि यसबारे चाँसो नदेखिनु लज्जास्पद अवस्था भएको उहाँको भनाई छ ।
‘एक–दुई सय थान नयाँ नक्सा हेलिकोप्टरमै ल्याएर दार्चुलामा वितरण गर्दा के फरक पथ्र्यो ?’ पत्रकार महासंघ अध्यक्ष धामीको प्रश्न छ । ‘पद र भूमिकामा रहेकाहरु कति नालायक र गैरजिम्मेवार छन् भन्ने एउटा दृष्टान्त हो यो’ उहाँले भन्नुभयो ।
असार ३ गते नापी विभागले पठाएका नक्साहरु गाडीको व्यवस्था र कर्मचारी परिचालन गर्न नसक्दा वितरण गर्न नसकेको नापी कार्यालय कैलालीका प्रमुख सुदर्शन सिंह धामीको प्रतिक्रिया छ । नक्सा पठाइसकेको ठान्ने नापी विभाग र सानो कारण देखाएर जिल्लास्तरमा नक्सा नपुर्याउने नापी कार्यालय कैलाली दुबैको भूमिका गैरजिम्मेवार भएको दार्चुलाका एक कार्यालय प्रमुखको भनाई छ । ‘नयाँ नक्साबारे चाँसो नदेखाउने जिल्लास्तरको राजनीतिक र प्रशासनिक नेतृत्वको पनि कमजोरी देखिन्छ’ ती कार्यालयको प्रमुखले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !